नेपालको ‘श्रीलंका टापु’मा शिक्षक अभाव, पठनपाठनमा समस्या
प्रतीकात्मक तस्वीर

नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ ।

सप्तकोशीपारिको एक मात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकताअनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए ।  

‘हामीले वर्षौँदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ,’ उनले भने । कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने कर्माकारको भनाइ छ ।

बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ २ हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय  छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८/७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिए । ‘आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन,’ उनले भने । 

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताए । ‘दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिक सत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ,’ उनले भने ।



सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षातका समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकारी दिए ।

तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको उनको भनाइ छ । ‘किसानले मिहिनेतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्ग पुलको आवश्यकता छ,’ मण्डलले भने । रासस 



  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ७:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया