एकै गाउँबाट ६ करोडको सुन्तला बिक्री, छैन बजारको समस्या

इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । त्यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् ।

स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए । करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो । ‘राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन’, उनी भन्छन्, ‘स्थानीय वडाले सुन्तला खेतीलाई प्रोत्सहान गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।’

वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको वडा कार्यालयले जनाएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायत क्षेत्रमा प्रतिहेक्टर १० दशमलव तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । 

विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताए । सो वडाको करिब ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उनले जानकारी दिए । 

खड्काका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत ६ जना किसानलाई गत वर्ष एक लाख रुपैयाँका दरले अनुदानसमेत प्रदान गरेको थियो । चालू आर्थिक वर्षमा किसानले उक्त कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खड्काका अनुसार इलामका विभिन्न स्थानमा गरी तीन सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वडा नं ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिए । उनले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा विस्तार हुन थालेको बताए । 



राईले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीबाट आन्तरिक पर्यटक घरबास (होमस्टे)मा बास बस्न तथा यहाँका प्राकृतिक सम्पदाको अवलोकन गर्न आउने गरेका बताए । उनका अनुसार त्यहाँ १४ वटा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा बस्न आउने पाहुनालाई प्रतिकेजी ८० देखि ९० रुपैयाँका दरले बेच्ने गरिएको उनको भनाइ थियो ।

विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुआत गर्नुभएको वडाध्यक्ष राईले बताए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे पनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक रुपमा खेती थालिएको उनको भनाइ थियो । 



सुन्तला खेतीबाट वार्षिक पाँच करोड रुपैयाँदेखि ६ करोड रुपैयाँसम्म वडामा रकम भित्रिने गरेको वडाध्यक्ष राईले जानकारी दिए । त्यहाँ उत्पादित सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको उनले बताए ।  

  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १७:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया