छोरी–बुहारीको अध्ययनको थलो बन्दै गुप्तेश्वर क्याम्पस

पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई  शिक्षा आर्जनमा सहज भएको हो । 

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि स्थापना गरी यज्ञशाला भवनको दोस्रो तल्लाबाट सुरु भइ अहिले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसमा हाल कूल ९ सय २९ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ६९८ (७३ प्रतिशत) छोरी–बुहारी अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायतर्फ विविएस, बीएड, विएचएम, विआइएम र एमविएस  विषयमा स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, दाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षामा जोड दिएका कारण क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको उनको दाबी छ ।

क्याम्पसले विभिन्न सङ्कायबाट सर्वोत्कृष्ट अङ्क ल्याउने जेहनदार एवं विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीका अनुसार क्याम्पसलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि पर्यटकीयस्थल डेभिजफलको उत्तरी भेगमा गुफाले ३ करोड रुपैयाँभन्दा बढी लगानीमा खरिद गरेको पाँच रोपनी छ आना र पछि थप गरिएको १३ आना गरी छ रोपनी तीन आना जग्गामा भवन निर्माण गरिएको छ ।  

‘विश्वविद्यालय अनुदान आयोग र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक सहयोगमा तेस्रो तल्ला थप्ने काम भइरहेको छ,’ उनले भने । भारतीय दूतावासको ४ करोड १० लाख रुपैयाँको सहयोगमा भवन निर्माण गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ३३ विद्यार्थीबाट सुरु गरिएको क्याम्पस सञ्चालनमा गुफाको २५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए । आव २०७९/८० मा कूल ४ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको क्याम्पसको ४ करोड ८४ लाख रुपैयाँ खर्च भएको उनले बताए ।  



छात्रवृत्ति कोषमा १ करोड  

शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ क्याम्पसको विभिन्न सङ्काय र तहमा नियमितरूपमा अध्ययनरत जेहेन्दार, दलित, जनजाति तथा आर्थिकरूपमा पिछडिएका  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ सङ्घसंस्था एवं शिक्षाप्रेमीका तर्फबाट १ करोड ६ लाख बराबरको सातवटा अक्षयकोष स्थापना गरिएका छन् ।   



गुप्तेश्वर महादेव गुफा अक्षय कोष १ करोड, खगराज कला साहित्य उत्थान अक्षयकोष १ लाख एक हजार, लिलाकुमारी स्मृति अक्षयकोष एक लाख, प्रा. डा. भूपति ढकाल (कमल) पुर्खाको स्मरण २ लाख २२ हजार २ सय २२, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था अक्षयकोष ५० हजार, लक्ष्मी पौडेल जेहनदार तथा गरिब छात्रवृत्ति अक्षयकोष ५२ हजार र धर्मकला पौडेल स्मृति अक्षयकोष ५१ हजार १ सय ५१ रुपैयाँ रहेका छन् ।

अक्षयकोषको व्याजबाट चालू आवमा एक सय ३३ विद्यार्थीले १२ लाख रुपैयाँ छात्रवृत्ति वितरण गर्ने कार्यक्रम छ । विश्वविद्यालय अनुदान आयोगबाट १८ विद्यार्थीले विभिन्न विधामा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । क्याम्पसमा पूर्णकालीन र आंशिक गरी कूल ३४ शिक्षक र ११ कर्मचारी कार्यरत छन् । रासस 

  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ९:७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया