चिउरीबाट घ्यू उत्पादनमा चेपाङ गाउँ

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् । 

जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दै आएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए । उनले भने, ‘बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।’

उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै कलारामले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए । 

‘बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ’, कलारामले भने, ‘चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।’ चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । ‘चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ,’ उनले भने । 

एक वर्षमा झन्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताए । ‘यसको बजार भाउ छैन । तर, न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्’, उनले भने । 

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रूपमा समेत प्रयोग गर्ने गरेको बताए । ‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ’, उनले भने । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उनले बताए । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए । 



विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे ।

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिँदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले  चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ । 



कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताए । ‘अरू तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन’, उनले भने, ‘यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।’

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ । रासस  

  • प्रकाशित मिति : पुस २, २०८० साेमबार १०:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया