शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा ७१ वर्षीय खड्का : सिजनमा ५ लाख आम्दानी

धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्, तर यहाँका अनन्तबहादुर खड्का ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेका छैनन् । ७१ वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् ।  

शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो । उनी सुन्तलाखेतीबाटै वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गरेका खड्काले मासिक ३५ हजार रुपैयाँ पेन्सन बुझ्दै आएका छन् ।

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए । उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो । 

२ सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराखेका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेती समर्पित गराएको  बताए । ‘परम्परागत कृषि पेसा पुर्ख्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई ५ लाख रुपैयाँमा एकमुस्ट बिक्री गरेँ, गत वर्ष  सुन्तला बिक्रीबाट ५ लाख रुपैयाँ कमाएको हो’, खड्काल भने । 

चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुस्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन् । आगामी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ । यसपटक चितवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहेका छन् ।

सिगानाको सुन्तला स्वादिष्ठ भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुगेका हुन् । सुन्तला गाउँका रूपमा परिचित सिगानाका झन्डै १ सय किसानले सुन्तला फलाउँदै आएका छन् । 



‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो  सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ’, खड्काले भने, ‘परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर ३ करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गर्दछ ।’ 

पछिल्लो ६ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनीसहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आएका छन् । रासस



  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १०:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया