इयूको कालोसूचीबाट हटेन नेपाली हवाईक्षेत्र : पर्यटन क्षेत्रका लागि ‘अभिशाप’

युरोपेली संघ (इयू)को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र यस वर्ष भने उक्त सूचीबाट हट्ने धेरैको अपेक्षा थियो । तर, नतिजा ठिक विपरीत भयो । इयूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मंसिर १३ गते बुधबार कालोसूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठायो । योसँगै पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य अझै अनिश्चित बनेको छ । 

इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाईक्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै कालोसूचीमा राखेको हो । 

नेपालको हवाई क्षेत्र कालोसूचीमा परेसँगै दीर्घकालसम्म गम्भीर असर पर्ने निश्चित देखिन्छ । त्यसमध्यको एक क्षेत्र हो– पर्यटन । एकदशकदेखि हवाई क्षेत्र कालो सूचीमा पर्दा त्यसको असर पर्यटन उद्योगमा परेको ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोला बताउँछन् । उनका अनुसार बढी पैसा खर्च गर्ने गुणस्तरीय युरोपेली पर्यटकको नेपाल आगमन कम हुँदा पर्यटन उद्योग र समग्र अर्थतन्त्रमै प्रतिकूल प्रभाव परिरहेको छ ।

‘खासगरी युरोपियन युनियनले नेपाली हवाई उडान र आकाशलाई कालो सूचीमा राखेसँगै नेपालको पर्यटन क्षेत्रलाई ठूलो असर गरेको छ,’ उनी भन्छन्, ‘यसले युरोप क्षेत्रका पर्यटकमा मात्र नभई समग्र नेपाली पर्यटनमा नै नकारात्मक प्रभाव पारेको छ । नेपालमा अलि रिस्क फ्याक्टर छ भन्ने तरिकाले बुझाइएको छ । सरकारले त्यो हटाउन सकेको छैन । जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।’ त्यसकारण पनि युरोपको कालोसूचीबाट बाहिर निस्कन सरकार आफैँ अग्रसर हुनुपर्ने उनको भनाइ छ । 

नीलहरि बास्तोला, अध्यक्ष/टान

नेपालको तर्फबाट उड्डयन सुरक्षामा गर्नुपर्ने सुधार धेरै छन् । तिनलाई प्राधिकरण तथा वायुसेवा कम्पनीले क्रमशः सुधार गर्दै लैजानुपर्ने उनको सुझाब छ । ‘सरकारले कूटनीतिक माध्यमबाट युरोपेली आयोग र इयूसँग कुरा अगाडि बढाउनुपर्छ,’ टानका अध्यक्ष बास्तोला भन्छन्, ‘प्राधिकरणले वायुसेवा कम्पनीलाई उडान सुरक्षामा हेलचेक्य्राइँ गर्न नदिन कडा नियम कानुन बनाउनुपर्छ । कसरी हुन्छ नेपालमा हवाई दुर्घटना कम गर्नुपर्छ ।’



 

पर्यटन क्षेत्रमा कस्तो परेको छ प्रभाव ?



अन्य मुलुकभन्दा युरोपेली मुलुकका पर्यटकले बढी खर्च गर्छन् । तर, पछिल्ला वर्ष युरोपेली मुलुकबाट भन्दा एसियाली मुलुकबाट धेरै पर्यटक आउन थालेका छन् । त्यसकारण पनि बर्सेनि पर्यटकले गर्ने खर्च घट्दै गएको विज्ञको तर्क छ । युरोपबाट नेपाल आउने पर्यटकको संख्या कमै भएकाले पनि त्यसबाट पर्यटक तान्न नेपालले धेरै मिहिनेत गर्नुपर्ने टानका अध्यक्ष बास्तोला बताउँछन् ।

उनका अनुसार युरोपियन युनियनले नेपाली हवाई उडान र आकाशलाई कालो सूचीमा राख्नु पर्यटन क्षेत्रका लागि ठूलो अभिशापजस्तै भएको छ । यसले युरोप क्षेत्रका पर्यटकमा मात्र नभई समग्र नेपाली पर्यटनमा नै नकारात्मक प्रभाव पारेको छ । नेपाली हवाई क्षेत्रलाई कालो सूचीमा राख्दा  नेपाली जहाजमा यात्राक्रममा दुर्घटना भइहाले युरोपेली पर्यटकले आफ्ना देशमा गरेको बिमाको रकम सम्बद्ध कम्पनीले भुक्तानी दिँदैन । त्यसले गर्दा पनि युरोपेली पर्यटकको रोजाइमा नेपाल पर्न नसकिरहेको उनी बताउँछन् । 

यसका साथै कालोसूचीबाट हटे नेपाल एयरलाइन्स सीधै युरोपका विभिन्न देशमा जान सक्थ्यो । जसको कारण पर्यटकमा अझै वृद्धि हुने उनको तर्क छ । ‘नेपालको हवाईक्षेत्र कालोसूचीबाट हट्ने हो भने युरोपेली मुलुकका पर्यटक नेपाल आउँछन् । जसले गर्दा नेपाललाई फाइदैफाइदा हुन्छ । किनकि उनीहरू बढी खर्च गर्न रुचाउँछन्,’ बास्तोला भन्छन्, ‘कालोसूचीबाट हट्ने हो भने मात्र पनि युरोपबाट सीधै मानिसहरु यहाँ आउन सक्थे । तर, त्यसो हुन सकेको छैन । युरोपबाट नेपाल आउन हवाई भाडा महँगो पर्ने, सीधा हवाई उडान नभएकाले पनि समस्या उत्पन्न भएको छ ।  युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्न नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्नु आवश्यक हुन्छ ।’

अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । टर्की युरोप र एसियाको सिमानामा पर्ने भएकाले युरोपका धेरै पर्यटकलाई आकर्षण गर्न सकेको छैन । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्रान्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । 

नेपालले हाल ४० देश र युरोपेली संघ (इयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी विश्व पर्यटन बजारमा नेपाललाई स्थापित गराउन हवाई सेवाको सुरक्षा, विश्वसनीयता र पर्यटकीय सेवा सुविधाको गणुस्तर वृद्धि, नयाँ गन्तव्य स्थलहरूको पहिचान र विविधीकरण तथा पूर्वाधार विकासमा जोड दिन सकिएमा उल्लेखनीय रूपमा पर्यटक आगमनमा वृद्धि ल्याउन सकिने उनको भनाइ छ । 

नेपालले पर्यटनको कुरा गरेको धेरै वर्ष भए पनि अहिलेसम्म रणनीतिक ढंगबाट बजारीकरण हुन नसक्दा युरोपबाट जति संख्यामा पर्यटकले नेपाल भ्रमण गर्नुपर्ने हो त्यो हुन सकेको छैन । अहिलेसम्म पनि हामीले युरोपेली पर्यटकको रुचिका बारेमा बुझ्ने कोसिस नगरेको उनको भनाइ छ । 

कति भित्रिए पर्यटक ? 

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्यो । सरकारको सो लक्ष्य पूरा हुने छाटँकाट देखिएको छ । २०२३ को ११ महिनामा मात्र नेपाल भित्रिने विदेशी पर्यटकको संख्या नौ लाख १८ हजार तीन सय आठ पुगेको छ । उक्त सरकारी लक्ष्य भेट्न अब ८० हजार पर्यटकको मात्र खाँचो देखिएको छ । यस वर्षको अन्तिम महिना डिसेम्बरमा सो संख्यामा पर्यटक नेपाल भित्रिए सन् २०२३ मा सरकारले १० लाख पर्यटक भित्राउने संख्यात्मक लक्ष्य पूरा हुने सरकारको भनाइ छ । 

यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३, मेमा ७७ हजार सात सय तीन, जुनमा ७२ हजार दुई सय ५०, जुलाईमा ८८ हजार ६५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, अक्टोबरमा एक लाख १७ हजार तीन सय सात र नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।  

नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार एक सय ९१ जना पर्यटक भित्रिएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए । कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार आठ सय ६९ पर्यटक भित्रिएका थिए ।

युरोपेली संघका सदस्य राष्ट्रबाट कति भित्रिए पर्यटक ? 

कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकासमा उडान अनुमति पाउँदैनन् । २०१३ मा नेपाल युरोपेली युनियनको कालोसूचीमा पर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय नियमनकारी निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा नेपाल पर्नु थियो । 

आइकाओले उठाएकामध्ये बहुसंख्यक चासो सम्बोधन भएको छ । फलस्वरूप सन् २०१७ जुलाईबाट नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटायो । नेपालले आइकाओको सूचीबाट उम्किएसँगै मन्त्री र सरकारी अधिकारीले इयूको सूचीबाट समेत नेपाल उम्कन्छ भन्ने दाबी आएका थिए । तर, अहिलेसम्म कालोसूचीमा नेपाली वायुसेवा कम्पनी कायमै छन् । युरोपेली संघमा २८ वटा सदस्य राष्ट्र छन् । नेपाली हवाईक्षेत्र कालोसूचीमा पर्दा ती देशबाट आउने पर्यटकको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन ।    

 

  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १८:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया