द्रुतमार्ग निर्माण प्रगतिप्रति सांसदहरू असन्तुष्ट, ६ वर्षमा २८ प्रतिशत मात्रै काम

काठमाडौं तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइलाई लिएर सांसदहरूले चरम असन्तुष्टि जनाएका छन् । बुधबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको ६ वर्षमा २८.५६ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिएपछि सांसदहरूले असन्तुष्टि जनाएका हुन् । 

समितिको बैठकमा फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले निर्माण सुरु भएको ६ वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति २८.५६ प्रतिशत र वित्तीय प्रगति २९.४४ प्रतिशत जानकारी दियो । 

नेपाली सेनाका प्राविधिक महासेनानी तथा योजना तथा डिजाइन महाशाखा प्रमुख भरतलाल श्रेष्ठले, कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको द्रुतमार्गको वित्तीय प्रगति २९.४४ प्रतिशत जानकारी दिए ।  उनका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा द्रुतमार्गको भौतिक प्रगति ३२.६६ प्रतिशत र वित्तीय प्रगति १०.८ प्रतिशत रहेको छ । 

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडौं–तराई मधेस द्रुतमार्ग प्रगति सन्तोषजनक नभएको बताउँदै समयमै आयोजना सम्पन्न हुनेमा शंका व्यक्त गरे । प्रधानसेनापति प्रभुराम शर्मा र आयोजनाका अधिकारीहरूसँग सहभागी छलफलमा पाण्डेले २०८३ चैतभित्र आयोजना निर्माण सम्पन्न हुन्छ कि हुँदैन भनेर सेनालाई प्रश्न सोधे । 

उनले भने, ‘काठमाडौं–तराई/मधेस फास्ट ट्याकको प्रगति जति हुनुपर्ने हो त्यो देखिएन । यसमा प्रगति न्यून नै देखियो । यो योजना ०८३ साल चैत्र मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ, अहिलेको कामको प्रगति हेरेर थपेको टाइमभित्र हामीले आयोजना पूरा गर्न सक्छौँ की सक्दैनौ ?’

यस्तै फास्ट ट्र्याकबारे सेनाको प्रगति विवरण सुनेपछि रास्वपा सभापति रवि लामिछानेले पनि सेनाको काम निकै सुस्त गतिमा भइरहेको भन्दै फास्ट ट्याकलाई चिप्ले किरा र कछुवाको गतिमा दाँजेर व्यङ्ग्य गरे । 



कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमा ६ स्थानमा सुरुङ मार्ग बन्दै छ । सुरुङ मार्गको लम्बाइ १०.०५५ किलोमिटर रहेको सेनाले जनाएको छ । देवी चौर १ किलोमिटर, सिसौटार ०.३९ किलोमिटर, चन्द्राम भीर २.२५ किलोमिटर, महादेवडाँडा ३.३५५ किलोमिटर, धेद्रे १.६३० किलोमिटर र लेनडाँडा १.४३ किलोमिटर लामो  ३ स्थानमा सुरुङ मार्ग बन्दै छन् । 

आयोजनामा कुल ८९ वटा पुल बनाउने योजना छ । जसको लम्बाइ १२.८८५ किलोमिटर हुन आउने र दुई स्थानमा विश्राम स्थल तथा ३ स्थानमा इन्टर चेन्ज रहने सेनाले जनाएको  छ । टोल प्लाजा ३ स्थानमा रहने यो आयोजना निर्माण सम्पन्न भएपछि काठमाडौंबाट निजगढको यात्रा १ घण्टा २ मिनेटमा छोटिने छ ।



तर सेनाले भने समितिलाई इन्ट्री प्वाइन्ट खोकनाको जग्गा विवाद अझै नटुंगिएको, कोभिडको असर परेकोजस्ता विविध कारणले काममा ढिलाइ भएको दाबी गरेको छ । सरकारले २०७४ वैशाख १ मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । पछिल्लो पटक थप भएको म्यादअनुसार ०८३ चैत मसान्तमा सेनाले फास्ट ट्रयाक निर्माण सम्पन्न गर्नुपर्नेछ ।

  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार १७:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया