विद्यार्थीको रोजाइमा क्यानडा किन ? यस्ता छन् विशेषता

पछिल्लो समय नेपाली विद्यार्थी विदेश जाने लहर नै चलेको छ । उच्च शिक्षा तथा रोजगारीको अवसरमा विद्यार्थी दैनिक सयौंको संख्यामा विदेशिरहेका हुन् । तीमध्ये धेरै विद्यार्थीको रोजाइमा पर्ने देश हो क्यानडा ।  

विदेशमा शिक्षा आर्जन गरेका विद्यार्थीले स्वदेश र विदेश दुवैतिर रोजगारीका राम्रा अवसर पाउँछन् । यस्तै कारणले अभिभावक र विद्यार्थी उच्च शिक्षा आर्जनका लागि विदेश जाने निष्कर्षमा पुग्छन् । विद्यार्थीको पहिलो प्राथमिकता देशसँगै जान लाग्ने लागतदेखि खानबस्ने व्यवस्था, रोजगारीको अवस्था, पारिश्रमिक हुने गर्छन् ।

कुन देश जाने भनेर रोज्दा विद्यार्थीले मुख्य दुई कुरा हेर्छन्, गुणस्तरीय शिक्षा र रोजगारीको अवसर । यति मात्रै होइन उचित शैक्षिक शुल्क र छात्रवृत्ति पनि रोजाइको विषय बन्छ । यी सबै सहज उपलब्ध हुने स्थानलाई नै उनीहरूले अध्ययनको गन्तव्य छनोट गर्छन् । पछिल्लो समय विद्यार्थीको पहिलो रोजाइमा पर्ने देश हो, क्यानडा ।

प्रायः नेपालबाट बाहिर पढ्न जाने विद्यार्थीको मुख्य उद्देश्य हुन्छ, जीवन व्यवस्थापन । विदेशमा पढ्न गएपछि राम्रो जागिर पाइन्छ र आफ्नो परिवारको जीवनस्तर उकास्न सकिन्छ भनेर नै धेरै विद्यार्थी विदेश अध्ययन गर्न गइरहेका हुन्छन् । यस्तै, क्यानडा जानुको मुख्य उद्देश्य पनि यहाँ विद्यार्थीले अध्ययनपश्चात पाउने ‘पिआर’ र ‘ग्रीन कार्ड’ रहेको छ । यसबाहेक अन्य कारणले पनि विद्यार्थीले क्यानडालाई रोज्ने गरेका छन् । विद्यार्थीको रोजाइको गन्तव्य क्यानडा किन बनिरहेको छ भनेर यस सामग्रीमा समेट्ने प्रयास गरिएको छ । 

गुणस्तरीय शिक्षा आर्जन 



अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रमुख थलो बनेको छ, क्यानडा । अन्य राष्ट्रका विद्यार्थीझैँ नेपाली विद्यार्थीको रोजाइमा पनि क्यानडा पर्नुको एउटै कारण हो, क्यानडामा प्राप्त हुने गुणस्तरीय शिक्षा । क्यानडाका विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयभित्र पर्दछन् । क्यूएस विश्व विश्वविद्यालय र्याङ्किङ–२०२३ मा क्यानडाका २६ विश्वविद्यालय पर्न सफल भएका छन् । 

अवसरको खानी क्यानडा



खोज तथा अनुसन्धानमूलक अध्ययनका लागि क्यानडा सबैभन्दा उत्तम गन्तव्य रहेको हो । त्यसैले पनि धेरै विद्यार्थीको रोजाइमा क्यानडा पर्ने गरेको छ । क्यानडा सरकारले चिकित्सा, दूरसञ्चार, कृषि, पर्यावरण विज्ञान र प्रविधिसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीका लागि सुवर्ण अवसरहरू प्रदान गर्दै आइरहेको छ । 

क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनको रूचिअनुसारको पाठ्यक्रम पाउँछन् । र, उनीहरूले अध्ययन गरेको विषय सम्बन्धित विभिन्न क्षेत्रमा रोजगारका अवसर प्राप्त गर्छन् । त्यसैले पनि क्यानडा नेपाली विद्यार्थीको रोजाइको प्रमुख गन्तव्य बनेको छ । 

यस्तै, क्यानडा सरकारले अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीलाई विभिन्न सहयोग पनि गर्दै आइरहेको छ । क्यानडा ‘ग्लोबल इनोभेसन इन्डेक्स’मा १५औँ स्थानमा छ । क्यानडा बौद्धिक सम्पत्तिले भरिपूर्ण राष्ट्रका रूपमा पनि चिनिन्छ । क्यानडा बौद्धिक, रचनात्मक, अध्ययन, अनुसन्धान, आविष्कार, डिजाइनका क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्दै ५७औँ स्थानमा रहेको छ । 

यसका साथै क्यानडाको संघीय कार्यक्रम (एनएचसी–आइआरपी)ले प्रविधि र सफ्टवेयरको विकास तथा अनुसन्धानमा लाग्ने लागतको ८० प्रतिशत हिस्सालाई समेटेको हुन्छ । जसकारण अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीलाई धेरै नै सहज हुन्छ । यससँगै क्यानडा सरकारले विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई कर छुटको व्यवस्था पनि गरेको छ । यसले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहज वातावरण प्रदान गर्ने भएकाले नेपाली विद्यार्थीको अध्ययनको गन्तव्य मुलुक बनिरहेको छ, क्यानडा ।

सहज जीवनयापन

क्यानडाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले रोजाइ र आयस्रोतअनुसारको पाठ्यक्रम रोज्न पाउँछन् । अमेरिका, बेलायतका विश्वविद्यालयको तुलनामा क्यानडामा अध्ययन शुल्क कम लाग्ने भएकाले क्यानडा धेरै नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

 

क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई यहाँका विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्दै आइरहेका छन् । जसकारण नेपाली विद्यार्थीलाई धेरै सहज हुन्छ । शैक्षिक अर्च कम गर्न चाहने विद्यार्थीले सहजै क्यानडाका विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्ने सुविधा छ । यस्तै, विविध कारणले पनि नेपाली अधिकांश विद्यार्थीको रोजाई क्यानडा हुने गरेको छ । 

सांस्कृतिक विविधता

क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीको थलो भएकाले यहाँ विविध संस्कृति, जीवनशैली झल्किन्छ । यहाँ विभिन्न राष्ट्रका मानिस एकअर्कासँग मिलेर बसेका छन् । उनीहरूले एकअर्कालाई मान–सम्मान गर्छन् । जसकारण क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई अनौठो महसुस हुँदैन ।

क्यानडामा भएकोे बहुसांस्कृतिक वातावरणले नयाँ व्यक्तिलाई उक्त वातावरणमा घुल्न समय लाग्दैन । पछिल्लो समय क्यानडामा नेपालीको बसोवास बाक्लिँदै गइरहेको छ । क्यानडामा रहेका नेपालीले एकअर्कासँगै आत्मीयता बढाउँदै सुख, दुःखमा एकअर्कालाई साथ, सहयोग दिँदै आइरहेका हुन्छन् । त्यसैले पनि नेपाली विद्यार्थीको प्रमुख गन्तव्य क्यानडा बन्दै गइरहेको छ । क्यानडामा मनोरञ्जनका लागि हरेक साता विभिन्न सांस्कृतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना हुने गरेको छ । 

सुरक्षित राष्ट्र

सुरक्षाको दृष्टिकोणमा पनि क्यानडालाई राम्रो राष्ट्रका रूपमा लिइन्छ । सन् २०१९ मा ‘ग्लोबल पीस इन्डेक्स’ले क्यानडालाई विश्वभर छैटौँ शान्तिपूर्ण देशको रूपमा सूचीबद्ध गरेको थियो । क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँका नागरिक सरह सुरक्षाको अधिकार पाउँछन् । 

अध्ययनसँगै आम्दानी

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई साताको २० घण्टासम्म काम गर्ने अवसर प्रदान गरेको छ । जसकारण क्यानडा पुगेका विद्यार्थीले अध्ययनसँगै कमाइ पनि गर्न सक्छन् । विद्यार्थीले जाडो बिदा तथा विश्वविद्यालयले दिएको बिदामा पूरा समय काम गर्न पाउँछन् । 

ती विदाहरूमा उनीहरूलाई काम गर्ने समयमा कुनै बन्देज लगाइँदैन । यसले विद्यार्थीले व्यावहारिक ज्ञान आर्जन गर्नुका साथै आम्दानी गर्ने अवसर पनि प्राप्त गर्छन् । 

उत्साहपूर्ण क्याम्पस जीवन 

क्यानडाका विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई एक्लो महसुस नहोस् भनेर विभिन्न समयमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यहाँका विश्वविद्यालय हरेक विद्यार्थीलाई खुसी दिने हरसम्भव प्रयास गरिरहेका हुन्छन् । जसकारण अन्तर्राष्ट्रिय विद्यार्थीले क्यानडाका विश्वविद्यालयमा जीवनलाई कसरी उत्साहित बनाउन सकिन्छ भन्ने कला सिक्ने सुवर्ण अवसर प्राप्त गर्छन् । 

स्थायी बसोबासको माैका

अन्तर्राष्ट्रिय विद्यार्थीले क्यानडामा अध्ययन पूरा गरिसकेपछि पोस्ट–ग्रेजुएशन वर्क परमिट पाउने गर्छन् । क्यानडाले विद्यार्थीलाई अध्ययन सकिसकेपछि तीन वर्ष निर्धक्क काम गर्ने मौका दिन्छ । यसले उनीहरूलाई क्यानडामा बस्न र काम गर्न छुट हुनुका साथै कार्य अनुभव बटुल्न पनि सहयोग पुग्छ । साथैका साथै विद्यार्थीले क्यानडामा स्थायी बसोवासका लागि आवेदन समेत दिन पाउँछन् । 

उक्त आवेदन क्यानडा सरकारले स्वीकृत गरेपछि नेपाली विद्यार्थीले आजीवन क्यानडाका नागरिक भएर जीवनयापन गर्न पाउँछन् । यही कारणले पनि क्यानडा अध्ययनका लागि जान नेपाली विद्यार्थी इच्छुक हुन्छन् ।

द्विभाषी ज्ञान प्राप्तको वातावरण 

विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा भविष्य निर्माण गर्न सहज होस् भन्ने उद्देश्यले क्यानडाका विश्वविद्यालयमा एकभन्दा बढी अन्तर्राष्ट्रिय भाषाको अध्यापन गराइन्छ । विद्यार्थीले अध्ययनको रूपमा क्यानडालाई रोजे पनि उनीहरूले अंग्रेजी र फ्रान्सेली पाठ्यक्रममा आधारित रहेर शिक्षा हासिल गर्न पाउने अधिकार पाउँछन् । जसले गर्दा उनीहरूले क्यानडामै बसेर अन्तर्राष्ट्रिय भाषा सिक्ने पनि अवसर प्राप्त गर्छन् । 

  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार १८:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया