गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत : उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन् ।

नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ, तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले बताए ।

माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका–२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो, तर जनताको अवस्थामा सुधार आएको छैन । जनताको जीवनस्तर सुधार गरेर जानुपर्छ । हामी त्यसमा लागिपरेका छौँ ।’

गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायजस्ता विषय स्थापित गरेको, तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनको कथन छ ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले  अन्य सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए । 

‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ,’ उनले भने, ‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर, त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ । नौवटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।’



पूर्वमन्त्री पुनले आफ्नो पार्टी भ्रष्टाचार, कालोबजारीविरुद्ध निर्मम रूपमा प्रस्तुत भएको समेत उल्लेख गरे । ‘यही पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहकार फेर्छु तर, पछि हट्दिनँ, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ । परिणाम निकाल्छु भन्नुभएको छ । पार्टीले उहाँलाई साथ दिएको छ,’ सम्मेलनका सहभागीलाई प्रशिक्षण दिँदै नेता पुनले भने । 

चन्द्रागिरि–२ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो । माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रमको उद्घाटन गरेका थिए । 



विगतको कमजोरी सुधार गर्दै माओवादीहरू एक हुने बाटोमा अघि बढिरहेको नेता पुनले बताए । विगतका गल्ती महसुस गरेर माओवादी धारहरूको एकताका लागि प्रयास भइरहेको उनको भनाइ छ । सम्मेलनले सुरेन्द्र तामाङको अध्यक्षतामा माओवादीको २९ सदस्यीय समिति गठन गरेको छ ।

  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार २३:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया