पोखरा उपत्यकामा २५ र २६ गते जलपन्छी गणना

पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो । 

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताए ।

उपत्यकाले जलपन्छी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपन्छीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताए । उनका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पन्छीमध्ये १३ जलपन्छी रहेका छन् । 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दाबढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपन्छीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिए । 

पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रूपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताए । रासस 





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १४:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया