इन्टरपोल पूर्वप्रमुखविरुद्ध चीनले मुद्दा चलाउने

एजेन्सी– चिनियाँ कम्युनिस्ट पार्टीले इन्टरपोलका पूर्वप्रमुख मेङ होङवाइविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । मेङमाथि भ्रष्टाचार गरेको आरोप चिनियाँ कम्युनिस्ट पार्टीले लगाउँदै आएको छ । 

मेङलाई यसअघि नै पार्टीबाट निस्कासन मात्र गरिएको थिएन, उनलाई दिइएका सबै जिम्मेवारीहरु पनि खोसिएको थियो । मेङ गत सेप्टेम्बरमा स्विजरल्यान्डबाट चीन आउँदा हराएका थिए । उनी हराएको केही समयपछि मात्र चिनियाँ सरकारले मेङ आफ्नो नियन्त्रणमा भएको जानकारी दिएको थियो  । लगत्तै मेङले इन्टरपोलबाट राजीनामा दिएका थिए । 

६५ वर्षीय मेङ हराएको सूचना पहिलो पटक उनकी श्रीमतीले दिएकी थिइन् । फ्रान्समा बस्दै आएका मेङले आफ्नो स्वार्थका लागि घुस लिएको, देशको कोषको दुरुपयोग गरेको र पदको दुरुपयोग गरेको आरोप लागेको छ । अहिले उनी चिनियाँ सरकारको नियन्त्रणमा नै छन् । 

चिनियाँ पार्टीले मेङले पार्टीका कुनै पनि सिद्धान्त अनुसरण नगरेको र उनी सजायको भागेदार भएको बताउँदै आएको छ । बुधबार फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोन र चिनियाँ राष्ट्रपति सी जिन पिङको भेटमा यस विषयमा कुरा गर्न मेङकी श्रीमतीले फ्रेन्च राष्ट्रपतिसँग अनुरोध गरेकी थिइन् । 

गत २५ सेप्टेम्बरदेखि हराएका मेङ अहिले कहाँ छन्, कसरी राखिएका छन् र उनको अवस्था कस्तो छ भन्नेबारे चाहिँ चिनियाँ सरकार स्वयंले पनि केही बताएको छैन ।

मेङले राजीनामा दिएपछि चाहिँ नोभेम्बरमा दक्षिण कोरियाली किम जङ याङलाई इन्टरपोलले आफ्नो नयाँ अध्यक्ष चुनेको छ । 





  • प्रकाशित मिति : चैत १३, २०७५ बुधबार २१:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया