बाक्लो हुस्सुका कारण आज पनि उडान प्रभावित

केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरू प्रभावित बनेका छन् । काठमाडौंबाट आउने, यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरू हुन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण हिजो (बुधबार) पनि उडान प्रभावित भएको थियो । आज (बिहीबार) पनि बिहानका उडानहरू भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने बारे टुंगो नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । 

बाक्लो कुहिरो लाग्ने गरेकाले ‘भिजिबिलिटी’ कमजोर रहेको जनाइएको छ । विमानस्थलका सूचना अधिकारी भण्डारीका अनुसार हिजो साँझ बुद्ध एयरको एउटा विमानले मात्र काठमाडौंका लागि उडान भरेको थियो ।

हिजोका अरू सबै उडान रद्द भएका थिए । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिनेमा बुधबार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट काठमाडौंका लागि दैनिक बुद्ध एअरको ७, यति एअरलाइन्सको ५, श्री एअरलाइन्सको ३ र सौर्य एअरलाइन्सको एउटा गरी १६ वटा उडान हुने गरेको छ । विराटनगरबाट हुने ताप्लेजुङलगायत गन्तव्यका उडान भने प्रतिकूल मौसमका कारण नियमित रूपमा केही समयका लागि बन्द गर्ने विमानस्थलले निर्णय गरेको  छ । 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ११:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया