संसारकै लामो पोखरा-मुक्तिनाथ केबलकारको डिपिआर तयार, ५५ अर्ब रुपैयाँ खर्च हुने अनुमान

पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केबलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन  (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार केबलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ । 

सो प्रतिवेदन अनुसार कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केबलकार बन्नेछ । यदि यो केबलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केबलकार बन्नेछ । 

मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केबलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए । डिपीआरमा केबलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जबकि साढे पाँच वर्षअघि सरकार र मुक्तिनाथ दर्शन प्रालिबीच भएको समझदारीमा ३९ अर्ब २० करोड लागत अनुमान गरिएको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरादेखि मुक्तिनाथसम्म नेपालकै ठूलो यस परियोजना सञ्चालनका लागि अनुमति दिएका थिए । त्यही बेला सरकारले मुक्तिनाथ दर्शन प्रालिलाई डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआईए)का लागि जिम्मेवारी दिएका थिए । तर कानुनी समस्या भएका कारण काममा ढिलाइ भएको सो कम्पनीका अध्यक्ष सुवेदीले बताए । 

उनले कानुनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा इआईएको प्रक्रिया रोकिएकोमा अब निर्माणका लागि बाटो खुल्ने विश्वास व्यक्त गरे । 
अध्यक्ष सुवेदीले यसअघि नै पेस गरिएका दस्ताबेजहरू कानुनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्ताबेज पेस गरिएको बताए । 

भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने भएको हो । मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष सुवेदी भौगोलिक जटिलताका कारण सर्वेक्षणमा समस्या भएकाले परियोजनाको सर्वेक्षणमै ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्छन् । 



नेपालमा कहाँ कसरी चलेका छन् केबलकार ? 

नेपालमा सर्वप्रथम २०५५ सालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो । उक्त केबलकारको उद्घाटन २०५५ साल मंसिर ८ गते तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको यो केवलकारमा अहिले ३४ वटा (डब्बा) गोण्डला सञ्चालनमा छन् । 



चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म चल्ने यो केवलकारले नेपालको प्रख्यात मन्दिर मनकामनाको दर्शनलाई सहज बनाएको छ । यसको लम्बाई ३.०२ किलोमिटर रहेको छ । नेपालको दोस्रो केबलकार परियोजनाका रूपमा ३० मंसिर २०७३ मा चन्द्रागिरि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।  वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री भएका बेला यो परियोजनाको उद्घाटन गरेका थिए।  

काठमाडौंको थानकोटमा रहेको बेस स्टेशनबाट ९ देखि १४ मिनेटको यात्रापछि चन्द्रागिरि डाँडामा रहेको टप स्टेशनमा पुग्न सकिन्छ । यस केवलकारमा जम्मा ३८ वटा गोण्डला जडान गरीएका छन् । 

त्यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिकामा सञ्चालनरत कालिन्चोक केबलकार परियोजना नेपालको तेस्रो केबलकार परियोजना हो । १७ कात्तिक २०७५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा औपचारिक उद्घाटन गरेका हुन् । यसमा ४ गोण्डला मात्र रहेका छन् । 

त्यस्तैगरी, २०७८ फागुनबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको अन्नपूर्ण केबलकार नेपालको चौथो केबलकार परियोजना हो । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म यो केबलकार सञ्चालनमा रहेको छ । यसको लम्बाई २.१६ किलोमिटर रहेको छ ।  

नेपालको पाँचौं केबलकार परियोजनाका रूपमा मौलाकाली केबलकार सञ्चालनमा आएको हो । केबलकार गत वैशाख १८ गते प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । १२ सय मिटर लामो यो केवलकारमा १४ वटा गोण्डला छन् । 

  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार ८:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया