न्यूजिल्याण्डले पाकिस्तानलाई ४५ रनले हरायो, दुई खेल अगावै जित्यो सिरिज

पाकिस्तानविरुद्धको टी–२० आई सिरिज घरेलु टोली न्यूजिल्याण्डले दुई खेल अगावै जितेको छ । बुधबार बिहान सम्पन्न खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै न्यूजिल्याण्डले सिरिज दुई खेल अगावै जितेको हो । 

पाकिस्तानले भने सिरिजमा जीवित रहन जित्नैपर्ने खेलमा पराजय बेहोर्‍यो । तेस्रो खेलमा न्यूजिल्याण्डले दिएको २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

उसका लागि बाबर आजमले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । ३७ बलको सामना गरेका उनले आठ चौका र एक छक्कासहित ५८ रन बनाए ।

यस्तै, मोहम्मद नवाजले २८, मोहम्मद रिजवानले २४, फखर जमानले १९, कप्तान शाहीन साह अफ्रिदीले अविजित १६, आजम खान र सैम अयुबले १०/१० रन बनाए । न्यूजिल्याण्डका लागि टिम साउथीले दुई, म्याट हेनरी, लकी फर्गुसन, इश सोढी र कप्तान मिचेल सान्टनरले एक/एक विकेट लिए ।   

त्यसअघि डुनेडिनस्थित युनिभर्सिटी ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय २४ रन बनायो ।



उसका लागि ओपनिङ ब्याटर फिन एलनले कीर्तिमानी शतकीय इनिङ खेले । उनले ६२ बलमा १६ छक्का र ५ चौकासहित १३७ रनको शतकीय इनिङ खेलेका हुन् ।  



योसँगै २४ वर्षीय एलेनले इतिहास रचे । उनी अब न्यूजिल्याण्डको टिमबाट टी–२० आईमा उच्च स्कोर बनाउने ब्याटर बने । यस फर्म्याटमा एलेनको यो दोस्रो शतक हो ।  

साथै, उनले यस खेलमा एक इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने मामलामा अफगानिस्तानका हजरतुल्लाह जाजईको कीर्तिमान बराबर गरे । जाजईले सन् २०१९ मा आयरल्याण्डविरुद्ध १६ छक्का हिर्काएका थिए ।  

यस्तै, पाकिस्तानविरुद्ध टिम साइफर्टले ३१ र ग्लेन फिलिप्सले १९ रन जोडे । पाकिस्तानका लागि हरिस रौफले दुई, शाहीन साह अफ्रिदी, जमन खान, मोहम्मद नवाज र मोहम्मद वासिमले एक/एक विकेट लिए ।

योसँगै पाँच खेलको सिरिजमा न्यूजिल्याण्डले ३–० को अग्रता लिएको छ । सिरिजको पहिलो र दोस्रो खेलमा न्यूजिल्याण्ड क्रमशः ४६ र २१ रनले विजयी भएको थियो । पाकिस्तान–न्यूजिल्याण्डबीचको चौथो टी–२० आई खेल शुक्रबार हुनेछ । 

  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ९:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया