सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएकी हुन् । 

प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ । सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीनपटक सामान चोरी गरेको आरोप लागेको थियो । यीमध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिङ्टनमा अवस्थित छन् ।

मंगलबार सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो । सीसीटीभी फुटेजमा गाहरमनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो ।

संयुक्त राष्ट्र संघका पूर्वमानवअधिकार अधिवक्तासमेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्यूजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् । 

उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् । गाहरमन बाल्यकालमा परिवारसहित इरानबाट त्यहाँ पुगेकी थिइन् । उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।

हालै गाहरमन प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएकी थिइन् । ग्रीन पार्टीको विदेश मामिला र मानव अधिकार प्रवक्ताको रूपमा उनले गाजामा हमासविरुद्धको युद्धमा इजरायलको सैन्य कारबाहीको पनि निन्दा गर्दै आएकी थिइन् । यसका लागि उनले चर्को आलोचना पनि बेहोर्नुपरेको थियो ।





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ९:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया