अनलाइन हिंसाका घटना बढे, निशानामा बालबालिका

विज्ञान र प्रविधिको विकाससँगै नेपालमा पनि सहरदेखि गाउँसम्म इन्टरनेटको पहुँच छ । इन्टरनेटले मानिसको जीवनयापनमा केही सहजता ल्याए पनि यसको दुरुपयोगबाट हुने घटना पनि बाहिर आइरहेका छन् । पछिल्लो समय इन्टरनेटको दुरुपयोग गरी हुने भर्चअुल हिंसाका घटनाहरू पनि वृद्धि भइरहेका विभिन्न तथ्यांक सार्वजनिक भइरहेका हुन् । 

सन् २०१९ मा कोरोना महामारी विश्वभरी फैलिएपछि विश्वभरका मानिस घरभित्र बस्न बाध्य भए । सो अवधिमा कार्यालय, विद्यालय पूर्णरूपमा बन्द हुँदा बालबालिकादेखि वयस्क, वृद्धवृद्धाले इन्टरनेटको भरपूर प्रयोग गरे । महामारीको समयमा इन्टरनेटका कारण धेरै काम सहजरूपमा घरबाटै गर्न सकिएका थिए ।

इन्टरनेटको माध्यमबाट अफिसको काम घरबाटै भइरहेको थियो । यस्तै, विद्यालय नगइ विद्यार्थीले पनि अनलाइन कक्षा लिएर आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका थिए । अनलाइन कक्षाका लागि विद्यालयस्तरका बालबालिकादेखि कलेजमा अध्ययन गर्ने युवायुवतीले इन्टरनेटको सहजै सदुपयोग गरे ।

इन्टरनेटको बढ्दो प्रयोग केहीका लागि भने हानिकारक साबित हुनपुग्यो । काठमाडौंको बुढानीलकण्ठकी १४ वर्षीया एक बालिका अन्जान व्यक्तिबाट अनलाइन हिंसामा परिन् । बन्दाबन्दीमा अनलाइन कक्षा लिनका लागि उनका आमाबुबाले ०७७ साउनमा मोबाइल फोन ल्याइदिए । ती बालिकाको बिहान १० बजेदेखि दिउँसोको ३ बजेसम्म अनलाइन कक्षा लिन्थिन् । अन्य समयमा मोबाइल फोन सहजै उपलब्ध नहुने अवस्थामा कोरोना महामारीमा भने सहजै मोबाइल फोन चलाउन पाएकोमा उनी औधी खुसी थिइन् । 

अनलाइन कक्षा सकिएसकेपछि पनि बालिकाको अध्यधिक समयै मोबाइलमै बित्थ्यो । त्यहीँ समयमा फेसबुकमा एक युवकसँग उनको दैनिक कुरा हुन थाल्यो । केही महिना निरन्तर एक युवकसँग फेसबुकमा बोलिरहेकी ती युवतीको प्रेम बस्यो । उनीहरूबीच गोप्य सम्बन्धका तस्बिर पनि आदानप्रदान हुन थाले । 

एक दिन ती तस्बिर फेसबुकमै सार्वजनिक भए जुन उनका परिवारका सदस्यलाई समेत ट्याग गरिएको थियो । परिवारका सदस्यले कानुनी कदम चाल्नुपूर्व नै ती बालिका शौचालयमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परिन् । अनलाइन हिंसाको सिकार भएका बालबालिकाले विकल्पविहीन भएपछि आत्महत्याको बाटो रोज्ने गरेको मनोविद् गंगा पाठक बताउँछिन् । 



‘सामाजिक सञ्जाल चलाउँदा धेरै मानिस हिंसामा परेका पर्छन् । तर, बालबालिका मानिसले झैँ समाधानको बाटो पहिल्याउन र सोच्न सक्दैनन् । फलस्वरूप पीडकले भनेअनुसार गर्दै जान्छन् र अप्रिय घटना घट्छ,’ उनले भनिन् । विश्वमा प्रविधिले नयाँ–नयाँ आविष्कार गरेर फड्को मार्दै छ । मानव सभ्यता सुरु भएको ढुङ्गे युगदेखि आजसम्ममा विज्ञान र प्रविधिबीचको धरातलमा आकास, जमिनको फरक भइसकेको छ । 

विज्ञानले मारेको फड्कोलाई हामीले तुलना पनि गर्न सक्दैनौँ । अहिले मानिसका स–सानादेखि ठूला कुरा विज्ञान–प्रविधिसँग जोडिएका छन् । अहिले इमेल, इन्टरनेटजस्ता माध्यमबाट विश्वभरिका खबर क्षणभरमै प्राप्त गर्न सक्छौँ । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ भनेझैँ प्रविधिको विकासले केही नकारात्मक असर पनि देखिरहेका छन् ।



प्रविधि आफैंमा नकारात्मक भने होइन, यसलाई कसले कसरी प्रयोग गरिरहेको छ भन्ने कुरा व्यक्तिमा भर पर्छ । सकारात्मक सोच भएकाले प्रविधिलाई सकारात्मकरूपमा प्रयोग गरेर यसबाट लाभ उठाइरहेका छन् भने नकारात्मक सोच भएका व्यक्तिले यसको दुरुपयोग गरिरहेका छन् । 

बढ्दै अनलाइन हिंसा 

पछिल्लो समय अनलाइन माध्यमबाट हुने हिंसा बढिरहेका प्रहरीको साइबर ब्यूरोमा परेका उजुरीले पनि देखाउँछ । साइबर ब्यूरोमा अनलाइन हिंसा घटनासम्बन्धी उजुरी बढ्न थालेका एसपी पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार पुसमा मात्र ४७ जना बालबालिकाले आफूमाथि अनलाइन हिंसा भएको भन्दै उजुरी दिएका छन् । जसमध्ये २२ जना बालक र २५ जना बालिका रहेका छन् । 

यस्तै, गत मंसिरमा २२ बालक, ३५ बालिका गरी कुल ५७ जनाले आफूमाथि अनलाइन हिंसा भएको भन्दै उजुरी दिएका थिए । विगत पाँच वर्षयता आफूमाथि अनलाइन हिंसा भएको भन्दै १ सय ७६ बालबालिकाले उजुरी दिएको ब्यूरोका प्रवक्तासमेत रहेका एसपी रायले जानकारी दिए ।

साइबर ब्यूरोले उपलब्ध गराएको तथ्यांकअनुसार ०७५/७६ मा १० जना, ०७६/७७ मा १०४ जना, ०७७/७८ मा २०८ जना, २०७८/७९ मा १८३ जना, ०७९/८० मा १७६ जना बालबालिकाले आफूमाथि हिंसा भएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् । यी उजुरी ‘साइबर बुलिङ’, ‘फोटो मल्टिनेसन’, ‘रिभेन्ज पोर्न’, बाल यौन दुर्व्यवहार जस्ता अनलाइन हिंसासँग सम्बद्ध छन् ।

अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन संस्थामा विश्वभरका बाल यौन दुव्र्यवहारसम्बन्धी तस्वीर र भिडिओको विवरणविरुद्ध रिपोर्ट दिइन्छ । त्यसमा नेपालबाट सन् २०१९ मा ६३ हजार र २०२१ मा एक लाख ७८ हजारभन्दा बढी यस्ता विवरण संकलन गरिएका छन् । 

माथि उल्लेखित तथ्याङ्कले अनलाइन हिंसाको बढ्दो रूपलाई दर्शाएको छ । इन्टरनेटको सही सदुपयोग, दुरुपयोग र यसबाट हुनसक्ने नोक्सानका बारेमा  बहस हुनुपर्ने सरोकारबाला बताइरहेका छन् । यसबारेमा विभिन्न समयमा बहस हुने भए पनि विद्यालय स्तरबाटै अनलाइन हिंसाबारेका बालबालिकालाई सहज र सर्तक गराउन अहिलेको आवश्यकता रहेको सरोकारवाला बताउँछन् । 

  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २०:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया