पुम्दीकोटमा बन्दै छ ‘गुटेरेस प्वाइन्ट’

संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि ।
    
यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिए । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पसेका यी विशिष्ट पाहुनाको स्वागतको पर्खाइमा थिए सुन्दर पोखरा र सेता हिमाल । उनी बारम्बार हिमाल र फेवाताल चिनाउँथे र मुहार उज्यालो पारे । त्यो दृश्यले महासचिवको मन पनि लोभ्याएको तथ्य उनको हर्षित मुहारमा पढ्न सकिन्थ्यो । 
    
दिउँसो ४:३० बजे यहाँ आइपुगेका महासचिव गुटेरेसलाई स्वागत गर्न तयारी अवस्थामा पुगे, पोखरा महानगरका प्रमुख धनराज आचार्य र महादेवको मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल । साथमा पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बराल पनि पुगे । 
    
गुटेरेस दृश्यावलोकन गर्दै विशाल मूर्ति परिसरको दक्षिण पश्चिम कुनामा पुगेका थिए । त्यो कुनाबाट अविचलित हेरिरहँदा लाग्थ्यो उहाँलाई त्यस कुनाले मोहनी नै लगाएको थियो । केहीबेरको हेराइपछि उनी मूर्ति परिसरको माथिल्लो तल्लामा पुगेका थिए । त्यहाँबाट पनि दृश्यहरू नियालीरहँदा उनी निकै हर्षित मुद्रामा देखिन्थे । उक्त तलाबाट दृश्यावलोकनसँगै विभिन्न विषयमा जानकारी लिएका गुटेरेस त्यहाँबाट झरे । पुनःअघि हेरैकै कुनामा फर्किएर दोहोर्‍याएर हिमालसहितको पोखरा आँखामा कैद गरे । त्यहाँबाट फर्किएका गुटेरसको मन अझै रमाएको थिएन । फेरि तेस्रो पटक पनि त्यही कुनामा पुगे ।

उनी त्यस कुनाबाट देखिने अलौकिक दृश्य चियाउँदै थिए भने उनको स्वागतार्थ त्यहाँ उपस्थित सबैजना गुटेरेसलाई चियाउँदै थिए । पछि उनी लोभिएको त्यो कुनातर्फ नै सबैको ध्यान पुग्यो । त्यही कुनालाई पुम्दीकोट विकास समितिले ‘गुुटेरस प्वाइन्ट’का रुपमा विकास गर्ने योजना बनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो विश्वकै अतिविशिष्ट व्यक्तिलाई मोहित बनाएको कुनालाई ‘गुटेरेस प्वाइन्ट’का रुपमा विकास गर्ने सोच अघि बढाइएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । 
    
पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूणर् दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूणर् तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूणर् चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूणर् दक्षिण हिमाल देख्न सकिन्छ । 

त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्र्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो । 





  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १४:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया