वैदेशिक रोजगार व्यवसायीले श्रम मन्त्रालयलाई बुझाए १९ बुँदे ज्ञापनपत्र

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरूमा सरकारी निकायहरूबीच तालमेल नहुँदा नतिजा आउन  नसकेको बताएका छन् । 

आइतबार श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरूका लागि आवश्यक सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए । 

उनले भने, ‘सरकारी निकायसँग आवश्यक समन्वय नभएका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उठाएको मुद्दाहरूको प्रभावकारी नतिजा आउन सकेको छैन । व्यवसायी संघले लामो समयदेखि जरुरी मुद्दाहरू उठाइरहेको छ तर त्यसको नतिजा आउन सकिरहेको छैन । हाम्रो नीति एकातिर र काम अर्कैतिर भयो । पपुलिस्टिक भयो तर रियालिस्टिक भएन ।’ 

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन लिने गरिएको सेवा शुल्क चाँडै निर्धारण गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई छ । सरकारले निर्धारण गरेको सेवा शुल्कका विषयमा थप छलफल गर्नुपर्ने साथै कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा सबै पक्षबीच घनीभूत छलफल गर्नुपर्ने उनको धारणा थियो । 

यस्तै ज्ञापन पत्र बुझ्दै श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले १९ बुँदे मागकाबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै उक्त विषयमा छलफल अगाडि बढाउनुपर्ने बताए । 

उनले वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील व्यवसायीहरूले लिने सेवा शुल्क र वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षाको लागि नेपाल व्यवसायी संघले उठाएका मागप्रति मन्त्रालय सकारात्मक रहेको बताए । 



उनले भने, ‘आज वैदेशिक रोजगारको संवेदनशीलता, कामदारहरूको सुरक्षा, हक, अधिकार, सामाजिक सुरक्षामा मन्त्रालय गम्भीर छ । वैदेशिक रोजगारमा अहिले भइरहेको बेथिति हटाउनका लागि संघले चालेको भूमिका सराहनीय छ ।’



  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १६:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया