स्वीडेनलाई नेटो सदस्य राष्ट्र बन्न बाटो खुला

स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सदस्य राष्ट्र बन्न बाटो खुला भएको छ । सदस्यताका लागि स्वीडेनले गरेको प्रस्ताव टर्कीको संसदले मंगलबार अनुमोदन गरेको छ । टर्कीको संसदले स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई २८७ मतले अनुमोदन गरेको हो । 

स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसदमा लामो समय छलफल गरेपछि मतदान गर्ने क्रममा चार जना सांसद अनुपस्थित थिए भने ५५ जनाले प्रस्तावको विपक्षमा मतदान गरे ।

स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो । टर्कीको संसदमा राष्ट्रपति तैयप एर्दोगानको सत्तारुढ गठबन्धनको बहुमत छ । उनले आवेदन स्वीकृत गर्न मतदान गरेका थिए ।  

यद्यपि, टर्कीको निर्णयले केही पश्चिमी सहयोगीलाई निराश बनाएको छ । स्वीडेनको पक्षमा मतदान गर्नुअघि टर्कीको संसदमा चार घण्टाभन्दा बढी बहस भएको थियो । सो क्रममा टर्की संसदको विदेश मामिला आयोगका प्रमुख तथा सत्तारुढ एके पार्टीका सदस्य फुआत ओक्तेले एक वक्तव्य दिएका थिए । 

उनले गठबन्धनको प्रतिरोधात्मक प्रयासलाई सुधार गर्न नेटोको विस्तारलाई समर्थन गर्ने बताए । ‘हामी आशा गर्छौँ कि फिनल्याण्ड र स्वीडेनको आतंकवादसँग लड्ने दृष्टिकोणले हाम्रा अन्य सहयोगीहरूका लागि उदाहरणको रूपमा काम गर्नेछ,’ यसपछि स्वीडेनको नेटो सदस्यता प्रस्ताव स्वीकृत भयो ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले मतदानपछि स्टकहोम गठबन्धनमा सामेल हुन ‘एक कदम नजिक’ भएको बताएका छन् । टर्कीले यसअघि गत वर्ष अप्रिलमा फिनल्याण्डको सदस्यतालाई समर्थन गरेको थियो तर हंगेरीसँगै स्वीडेनलाई प्रतीक्षा सूचीमा राखेको थियो ।



हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले मंगलबार क्रिस्टर्सनलाई आफ्नो देशलाई सैन्य गठबन्धनमा समावेश गर्ने विषयमा वार्ता गर्न निम्तो दिएको बताएका छन् । फिनल्याण्ड गत अप्रिलमा गठबन्धनको ३१औँ सदस्य बनेको थियो । स्वीडेन ३२औँ सदस्य राष्ट्र हुने तय छ । 

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो एउटा सैन्य गठबन्धन हो जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए। ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए ।  



नेटोमा आबद्धतापछि कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एकअर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रहरूले गरेका हुन्छन् ।  

  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १०:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया