बेलायती संसद्ले स्विकार्ला प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौता ?

बेलायती सांसदहरु आज फेरि प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट सम्झौता प्रस्तावमाथि मतदान गर्दै छन् । यद्यपि, यो मतदान केवल इयुसँग भएको सम्झौताको हिस्सामाथि हुनेछ । यसअघि, दुईपटकसम्म संसद्ले प्रधानमन्त्रीको ‘ब्रेक्जिट डिल प्याकेज’ अस्वीकार गरिसकेको छ । 

यसपटक बेलायती सांसदहरु आयरल्यान्ड सीमाका सम्बन्धमा भएको सम्झौता (आइरिस ब्याकस्टप) इयु र बेलायत अलग हुँदाको आर्थिक लेनदेन (डिभोर्स बिल) र नागरिकका अधिकारसम्बन्धी सम्झौतामाथि मतदान गर्नेछन् । यस मतदानले इयुसँगको बेलायतको भविष्यबारे निर्णय दिनेछैन । 

यसअघि प्रधानमन्त्री मेको अनुरोधमा ब्रेक्जिटको मिति दुई महिना पर सार्न सहमत भएको इयुले २९ मार्चभित्रै आफूसँग भएका सम्झौता संसद्बाट पारित हुनुपर्ने बताएकाले पनि यो मतदान बेलायतका लागि महत्वपूर्ण छ । नत्र, बेलायतले विनासम्झौता इयुबाट बाहिरिनुपर्ने स्थिति छ । 

२९ मार्च २०१७ मा बेलायत सरकारले इयुबाट अलग हुनेसम्बन्धी ‘धारा ५०’ लागू गरेको थियो । जसअनुसार, दुई वर्ष पुगेको दिन २९ मार्चमै बेलायत इयुबाट अलग हुनुपर्नेछ । तर, यसअघिका सम्झौताहरु पारित भए अलग हुने मिति २२ मे सम्मलाई सार्न इयु तयार भएको छ । 

यसैबीच, लेबर पार्टी र डेमोक्रेटिक युनियनिस्ट पार्टीका सांसदहरुले सम्झौताको विपक्षमा मतदान गर्ने बतएका छन् । 

प्रधानमन्त्री मेले मतदानलाई दुई हिस्सामा बाँडेर हेर्न आग्रह गरेकी छिन् । आज हुने भोटिङको पहिलो भागमा बेलायत इयुबाट अलग हुनुको महत्वलाई हेर्न र आउँदो साता हुने दास्रो भागमा भविष्यका बारेमा सोच्न उनले आग्रह गरेकी छिन् । 



प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौतामा सहमति मिले आफू सरकार छाड्न तयार रहेको पनि घोषणा गरिसकेकी छिन् ।

यद्यपि, यो स्पष्ट छैन कि मतदानका दौरान सांसदहरु इयुसँग भएका सम्झौतामाथि एकमत हुन सक्छन् या सक्दैनन् । यसअघि प्रधानमन्त्रीले प्रस्तुत गरेको ‘ब्रेक्जिट प्लान’का आठ विकल्पमध्ये कुनैमा पनि बहुमत सांसदकाे समर्थन मिलेको थिएन । 



  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १३:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया