किन बढी बिक्छन् उपन्यास ?
तस्वीर: thenation.com

काठमाडौं– पछिल्ला केही वर्ष यता नेपाली साहित्य बजारमा सबैभन्दा बढी चर्चामा रहेका पुस्तक उपन्यास नै छन् । फाट्टफुट्ट आत्मकथाहरुको चर्चाले छोपे पनि नेपाली साहित्य बजारमा उपन्यास नै बढी चर्चामा आउँछ । आखिर किन नेपाली पाठक उपन्यास बढी रुचाउँछन् त ? 

त्यसो त उपन्यास विश्व बजारमा पनि लोकप्रिय नै छ । तर, नेपालमा अन्य विधाको खासै चर्चा हुँदैन, उपन्यासकै चर्चा बढी हुन्छ । कतिसम् मभने अहिले साहित्यका पाठक भनेका उपन्यासका पाठक हुन् भन्ने कुरा स्थापित हुन थालेको छ । अझ बजारमा निबन्ध, नाटकलगायतका विधाका पुस्तक प्रकाशन त लगभग मृतप्रायः छ ।

‘पानीको घाम’ कथा सङ्ग्रह लिएर आख्यानमा हाम फालेका अमर न्यौपाने उपन्यासको बजार बढेको कुरा स्विकार्छन् । 

‘सेतो धरती’ उपन्यासका लागि मदन पुरस्कार जितेका न्यौपाने भन्छन्, ‘उपन्यासमा जीवनको ठूलो पाटो आएको हुन्छ, एउटा पात्रले सुरुदेखि अन्तिमसम्म सम्बन्ध राख्ने भएकाले पनि यो प्रत्येक पाठकलाई समात्न सक्छ र त्यसैले सायद उपन्यास बढी रुचाइन्छ ।’ 

त्यसो त न्यौपानलेलाई कथाहरुमा पनि यो विशेषता हुने तर कथा संग्रह भन्दा उपन्यास नै बढी रुचिपूर्वक लिइन्छ जस्तो लाग्छ । ‘कथासङ्ग्रहका कतिपय कथा पहिले नै फुटकर कथाका रुपमा प्रकाशन भइसकेका हुन्छन्, पाठकले पनि पढिसकेका हुन्छन्,’ न्यौपाने भन्छन्, ‘त्यही कारणले पनि नेपालमा कथा संग्रह अलिक कमै बिक्ने होलान् ।’

यति मात्र होइन, पछिल्लो समय राम्रा कथाहरु भएको संग्रह नछापिएको पनि न्यौपानेलाई लाग्छ । उनले थपे, ‘अहिले कथासङ्ग्रह आउनै छाडे, आए पनि त्यति उत्कृष्ट आएनन् । त्यसैले कथा भन्दा उपन्यास नै बढी विक्री हुन्छन् ।’ 



प्रकाशन संस्था फाइनप्रिन्टकका अजित बराल पनि उपन्यासको चर्चा र विक्री बढेको कुरा नकार्दैनन् । फाइनप्रिन्टबाट पनि उपन्यासका पुस्तकहरु बढी विक्री भएको बताउँछन् उनी । उनी भन्छन् ‘यो संसारभरी नै अलि बढी विक्रि हुने विधा हो । हाम्रो प्रकाशन गृहबाट प्रकाशित उपन्यास पनि राम्रै विक्रि भएका छन् ।’ 

उनी भन्छन्, ‘कथाको भन्दा उपन्यासमा कथा लामो समयसम्म बगिरहन्छ, त्यसैले यसले पाठकलाई अझ बढी तान्न सक्छ जस्तो लाग्छ ।’



बजारमा उपन्यासको चर्चा जति भए पनि यसको वास्तविक अवस्था हेर्ने हो भने फरक छ । अहिलेको चार पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने उपन्यासको प्रकाशनमा जति बाढी आएको देखिन्छ, त्यति बजारले सबै उपन्यासलाई नरुचाएको पनि हुनसक्छ । बराल भन्छन्, ‘उपन्यासको विषयवस्तु, भाषा वा लेखकको चर्चाले बढी बिक्री भएको होला तर विक्रिकै हिसाब गर्ने हो भने उपन्यास नै बढी बिक्री हुन्छ भन्ने पनि छैन ।’

यो वर्ष फाइनप्रिन्टबाट उपन्यासमा सुविन भट्टराईको ‘प्रिय सुफि’ मात्र प्रकाशन भयो । ‘यो लेखकको चर्चाले पनि होला यसको बिक्री चाहिँ राम्रो नै भयो,’ बरालले भने । 

२०७३ सालको मदनपुरस्कार विजेता बनेको घनश्याम कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ को त्यति चर्चा र विक्रि नभएको कुरा बताउँदै बरालले भने ‘मदन पुरस्कार प्राप्त खण्डकाव्यको पाठक पनि त्यति छैनन् भने यसले उपन्यासमा नै पाठकको रुची रहेको प्रष्ट देखिन्छ । त्यसैले यो बढी चर्चामा आएको र बिक्री भएको हुन सक्छ ।’

ऐना कथासङ्ग्रहबाट मदनपुरस्कार जितेका रामलाल जोशीलाई साहित्यको सबै विधाले आनन्द दिन्छन् तर उनलाई पनि नेपाली बजारमा उपन्यास नै बढी लोकप्रिय भएको अनुभूति छ । उनी भन्छन्, ‘साहित्यले हृदयलाई आनन्दमय बनाउँछ । त्यसैले यो आममानिसको रोजाईमा पर्ने विषय हो, तर उपन्यास नै बढी रुचाइन्छ ।’ 

‘उपन्यास बाहेकका विधामा जीवनको बृहत चित्रण गरिएको हँुदैन,’ उनले उपन्यास रुचाइनुको कारणबारे बताए, ‘उपन्यासले कुनै पनि पात्रको जीवनलाई विस्तृत रुपमा अभिव्यक्त गर्दछ । जसले गर्दा पाठकले पात्रको जीवनको आरोह अवरोहलाई नजिकबाट नियाल्ने मौका पाउँछ र उपन्यास रुचाउने गर्छ ।’ 

उपन्यासमा भाषा र शैलीको महत्वपूर्ण भूमिका हुने र यो अन्य विधाभन्दा फराकिलो विधा भएकाले पनि यसले पाठकलाई सम्मोहित पारेको हुनसक्ने अनुमान छ जोशीको । ‘अहिलेसम्म नदेखेको र बाहिर नआएको जाति वा समुदाय वा समाज वा कुनै पनि विषयलाई पाठकले नजिकबाट अवलोकन गर्न चाहन्छ । जुन चाहाना उपन्यासले पूरा गर्छ । त्यसैले यो लोकप्रिय हुन्छ,’ जोशीको तर्क छ । 

नेपाली बजारमा पाठकले उपन्यासलाई नै बढी रुचाएको बताउँछन्, प्रकाशन संस्था बुकहिलका सञ्चालक भूपेन्द्र खड्का । उनी भन्छन्, ‘उपन्यास सयौँ वर्ष पुरानो भए पनि अहिलेको स्ट्यान्डर्डमा बिक्री हुन्छ ।’ आख्यान अर्थात् उपन्यासमा कल्पनाशीलता, विचार बढी मात्रमा आएको हुन्छ । त्यसैले अरुको तुलनामा उपन्यास बढी लोकप्रिय हुने खड्काको बुझाइ छ ।

‘अहिले कथा लेखनको कमी छ, लेखे पनि सबै नयाँ शैली (प्रस्तुति) राम्रो छैन, त्यसैले पनि आख्यान भन्दासाथ उपन्यास नै बुझिने र उपन्यास नै बढी पढिने होला !’ आख्यानको अर्को विधा कथा लेखनको परम्परा निकै कम भएकाले पनि उपन्यास बढी रुचाइने भूपेन्द्रको ठम्याइ छ । 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार ९:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया