जसेको जिउँदै किरिया गरायो सेलेमीको जोखनाले

काठमाडौं–

कसरी काटूँ मैले समुद्रको रात,
हा हा हा कहुँबेला उजेली होला

हा हा हजुरकै काखमा बसी दुखै कहुँला
हा हा हजुरकै काखमा बसी 

धुरु धुरु रोई म रोई दुःखै कहुँला
सबै सुखै कहुँला....

पूर्वेली लोकभाका गुनगुनाउँदै कसैको पर्खाइमा बसेकी धनसुवाको मनको बह हो यो । समुद्रजस्तो गहिरो रात महसुस गरेकी धनसुवा उजेली कुरिरहेकी छे, अझ उजेलीसँगै जसेको आगमन । उसको उकुसमुकुस अँधेरी रातले भन्दा ज्यादा जसेको पखाईले बढाइरहेछ । उसको यो गीतले सबैको मनमा कौतुहल जगाइदिन्छ– सखारै जसे आउला ?



नाटकको यो पहिलो दृश्यले मण्डला थिएटरमा भरिएका दर्शकलाई आफूसँगै पूर्वी पहाडतिर डोर्याउँछ । थाहौ हुन्न, कतिबेला पूर्वी नेपालको किराँत बस्ती पुगिसकिन्छ । त्यहाँको चालचलन, लोकजीवन–संस्कृतिसँगै रम्न थाल्छ मन । बग्दै जान्छ कथासँगै, दृश्यभित्र हराउँदै, लहराउँदै । 

जोखना एक थान नाटक मात्र होइन, पूर्वी नेपालको सिंगो समाज, संस्कृति, पात्र र कथाव्यथाको समष्टि हो । एउटा सानो हलभित्र बृहत् आयामको किराँत समुदाय अटाएको छ । जहाँ, मुन्धुमी दर्शनवरिपरि घुमिरहेछ, समस्त किराँती जीवन–चरित्र । 



वर्तमान समय नेपाली रंगमञ्चका लागि गतिशील समय हो । मौलिक विषयलाई नयाँ–नयाँ ढंगबाट प्रयोग गर्ने बेला हो यो । तर, नेपाली रंगमञ्चको इतिहासमा मौलिकभन्दा अनुदित नाटकको मञ्चन ज्यादा हुने गरेको छ । रंगमञ्चमा मौलिक कथाव्यथा, कला, संस्कृति आउनुपर्छ भन्ने बहस चुलिएको बेला पनि हो यो ।

यसैबेला, जोखनाले पूर्वी नेपालको किराँती सभ्यताको सांगोपांगो चित्र ल्याएर नेपाली रंगमञ्चलाई मौलिक, कलात्मक बनाएको छ ।

धनसुवाको विरहको गीतबाट सुरु भएको जोखना माओवादी द्वन्द्वकालीन परिवेशभित्र छिर्छ । दशकभन्दा लामो द्वन्द्वमा हजारौँले ज्यान गुमाए, कैयौँ बेपत्ता भए । जोखना यही परिवेशलाई समेटेर उनिएको मौलिक–सांस्कृतिक नाटक हो । 

यो एक बेपत्ता परिवारको कथा हो । मुख्य पात्र धनसुवा र जसबहादुर (जसे) कै सेरोफेरो नाटकको मूल कथ्य अगाडि बढ्छ ।

द्वन्द्वकालमा कैयन् घटना घटे । कति देखिए, सुनिए, कति देखिएनन्, सुनिएनन् । नाटकले द्वन्द्वले संस्कृति र लोकविश्वासमा पारेको नदेखिएका प्रभावलाई देखाउने जमर्को गरेको छ । यसका प्रतीक हुन्, सेलेमी (बिजुवा), जसका माध्यमबाट द्वन्द्वकारीले पुराना ज्ञान, विश्वास र सभ्यता कुल्चिएका छन् । 

नाटकले परम्परा, जीवनशैली, र समाजबाट लोप भएका र हुन लागेका लोकगीत, भाषा, नृत्य, ज्ञानविज्ञानलाई समेट्दै संस्कृति, माटो र लाहुरे बन्ने संस्कारबीचको अन्तर्द्वन्द्वबारे सशक्त सवाल उठाएको छ ।

कथा बढ्दै जाँदा समय हुन्छ, साकेला नाचको । सबै गाउँले साकेला नाच्ने सल्लाह गरिरहेका हुन्छन् । लाहुरे बन्ने सोच बनाएको निच्छाले साकेला नाच्न जाने तयारी गरिरहेको हुन्छ । धनसुवा नाच्न जाने छोरालाई हेरिरहन्छे । निच्छा जान्छ, साकेला नाच्न । धनसुवालाई पिर हुन्छ, निच्छा पनि आफ्नो बाबाजस्तै कतै हराउला कि भन्ने । पिर लुकाएर छोरालाई नाच्न पठाउँछे । नाच्न सिपालु जसे साकेला नाचमा नदेखिएको कैयौँ वर्ष भइसकेको हुन्छ । धनसुवा फेरि जसेको सम्झनामा एकोहोरिन्छे । 

निकै अघि साकेला नाच्दानाच्दै हराएको जसे कहाँ गयो, पत्तो भएन । साकेलाले कहिले प्रेमको भाका बोल्छ, त कहिले पीडाको भाका । यता सबै साकेला नाचिरहेका बेला उता जसे घर आउनका लागि छटपटिरहेको देख्छे, धनसुवा । 

बरी लै, लै 
चरी भई उड्यो हो हो वन,
न मरी जानु, न गरी खानु
आफ्नै घर आज भयो विरानो 

डढेलो लाग्यो लै लै मनमा 
अइयो नि हौ बरी लै, लै
हजुरको गाउँमा विरानो ठाउँमा 
लौ भन हजुर कहाँ जाऊँ म...

जसेको मनको यो बहले दर्शकलाई स्तब्ध बनाउँछ । उता, धेरै अगाडि साकेला नाच्न गएदेखि जसे फर्केर नआएकोमा चासो हुन थाल्छ । गाउँभरि अब जसे आउँदैन भन्ने हल्ला छ । धनसुवा गाउँलेको कुरा सुनेर सेलेमी बोलाएर जोखना हेराउँछिन् । जोखना हेर्ने सेलेमीले पनि जसे मरेको खुट्याउँछ ।

धनसुवालाई जसे मरेको कुरामा विश्वास लाग्दैन । तर, सबै गाउँले उसको किरिया गर्ने सुरसार गर्छन् । धनसुवालाई सम्झाउँछन्, जसेको किरिया गर्न सुझाउँछन् । सबैका सामु धनसुवाको केही लाग्दैन र किरिया गर्न राजी हुन्छे । 

किरियाकाज भएको लामो समय बित्छ । सबै जसेलाई बिर्सन थाल्छन् । गाउँमा द्वन्द्व सकिएर विकास निर्माणका काम हुन थालेका छन् । गाउँलेबीच ट्याक्टर किन्ने, बाटो बनाउने कुरा भइरहेका बेला जसे टुप्लुक्क आउँछ । उसको अनपेक्षित आगमनले सबै हेरेको हेर्यै हुन्छन् । 

अब सेलेमीलाई पिर पर्छ, जोखना गलत भएकोमा । के हजारौँ वर्ष पुरानो मुन्धुममा आधारित आत्मा बोलाउने परम्परा झुटो हो त ? यो मोडमा आएर नाटकले प्रश्न उठाउन खोजेजस्तो देखिन्छ । अब कथाले गम्भीर मोड लिन्छ । 

सेलेमीको माध्यमबाट नाटककारले अन्धविश्वासमा वा जोखनाकै भरमा बाँचेको समाजको चित्र उतारेका छन् । यसले सोच्न बाध्य बनाएको छ । जसे सेलेमीलाई प्रश्न गर्छ, ‘कसरी मरेको थिएँ रे तिम्रो जोखनामा ?’ 

लज्जित हुँदै सेलेमी भन्छ, ‘मान्छेको पावर सकिएपछि ज्ञान पनि सकिँदो रहेछ । जोखना त आत्माहरुले भन्ने हो, अब आत्माले जे भन्यो, मैले त्यही भनेँ । संसारमा कति मान्छे मरे, जले, कसैले पाप सम्झेन, धर्म सम्झेन । अब अहिले हंसहरु भड्किएका छन् । पित्रीहरु भड्किएका छन् । सबै कुरा भड्किएको ठाउँमा मेरो जोखनाचाहिँ कसरी मिल्छ त ?’

यही नै नाटकको मुख्य विम्ब हो । जसे फेरि गाउँघर छोडेर आफ्नो बाटो लाग्छ । नाटक सकिन्छ ।

नाटकको विषयवस्तु सशक्त छ । नाटकलाई अभिनयले अझ जीवन्त बनाएको छ । संगीता थापा, रुपेश लामा, सञ्जीव राई, मनहाङ लवाती, अनील सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनि के राईजस्ता कलाकारले बेजोड अभिनय गरेका छन् । 

धेरै ठूलो सेट डिजाइन नभएको नाटकले किराँती परिवेशको आभाष दिलाउँछ । यसमा प्रयोग गरिएको लाइभ म्युजिकले कलाकारको अभिनयमा मीठो स्वाद थपिदिएको छ । प्रकाश गडरुवा, दिवान रसाइली र आशिष शाहीले नाटकमा संगीत भरेका छन् भने प्रकाश परिकल्पना र परिचालन उमेश तामाङले गरेका छन् ।

वास्तवमा जोखना नाटकका रुपमा रचिएको होइन । बिएस राईको ‘हिउँमाझी’ कथासंग्रहको ‘जोखना’ कथामा आधारित नाटक हो यो । यसलाई नाट्य रुपान्तर गरेका हुन्, राजन मुकारुङले । मुकारुङले कथालाई लयात्मक बनाएका छन् । संवादमा मिठास ल्याएका छन् ।

किराँती समाजको दर्शन मुन्धममा आधारित गीतले नाटकलाई झन् अब्बल बनाएको छ । गीत लेखनमा मुकारुङलाई दयाहाङ राईले सघाएका छन् भने निर्देशनको जिम्मा लिएका छन्, किरण चाम्लिङ राईले । 

कलाकारहरुलाई जीवन्त अभिनयसँगै मौलिक शारीरिक हाउभाउ सिकाएर राईले निर्देशकीय क्षमता देखाएका छन् । यो उनले निर्देशन गरेको दोस्रो नाटक हो । चाम्लिङले यसअघि उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटोपहाड’लाई नाटकमा उतारेका थिए । 

मण्डलामा जोखना ८ वैशाखसम्म चल्नेछ ।
 

  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार ११:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया