६५ वर्षपछि त्रिविले भेट्टायो पहिलो रेक्टर !

त्रिभुवन विश्वविद्यालयले आफ्नो पहिलो शिक्षाध्यक्ष (रेक्टर) भेट्टाएको छ । ०१६ सालमा स्थापना भएको विश्वविद्यालयले स्थापनाको करिब ६५ वर्षपछि आफ्नो पहिलो रेक्टर भेट्टाएको हो । ​यसअघिसम्म त्रिविले सूर्यबहादुर शाक्यलाई पहिलो रेक्टरका रूपमा मान्दै आएको थियो । तर, शाक्यभन्दा पनि पहिला शारदाप्रसाद उपाध्यायले त्रिवि रेक्टरको जिम्मेवारी सम्हालेकाे तथ्य सञ्चारमाध्यममा आएपछि त्रिविले त्यसको वास्तविकता खोजी गरेर पहिलो रेक्टरको स्थानमा  शारदाप्रसाद उपाध्यायलाई राख्ने निर्णय गरेको हो ।

त्रिविका एक कर्मचारीका अनुसार तत्कालीन रेक्टर शाक्यले आफूलाई त्रिविको पहिलो रेक्टरका रूपमा प्रस्तुत गर्न उपाध्याय रेक्टर रहेको तथ्य लुकाउने प्रयास गरेको पत्ता लागेको छ । विसं ०७९/०९/२५ गते त्रिविले निर्णय गरेर उपाध्यायलाई पहिलो रेक्टर कायम गरेको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार त्रिविका पुराना अभिलेख हेर्दै जाँदा त्रिविको पहिलो रेक्टर शाक्य नभएर उपाध्याय रहेको तथ्य फेला परेपछि त्रिवि परिषद्ले उपाध्यायलाई नै त्रिविको पहिलो रेक्टर कायम गर्ने निर्णय गरेको हो । त्रिविले यसअघिसम्म पहिलो रेक्टर मानेका शाक्यले विसं ०२९ वैशाख १ गतेदेखि ०३० कार्तिक १५ गतेसम्म रेक्टरको जिम्मेवारी सम्हालेका थिए भने उपाध्यायले विसं ०१७ असार २० गतेदेखि विसं ०१९ असार ३० गतेसम्म रेक्टरको जिम्मेवारी सम्हालेको तथ्य त्रिविले फेला पारेको हो ।

शाक्यले पनि आफ्नो पुस्तकमा उपाध्यायलाई नै त्रिविको रेक्टरका रूपमा प्रस्तुत गरेका छन् । शाक्यको ‘रिसर्च डिभिजन रेक्टर्स अफिस त्रिभुवन युनिभर्सिटी’मा त्रिविको ‘रेक्टर उपाध्याय’ भनेर उल्लेख गरेका छन् । तर, उनले उपाध्यायलाई रेक्टरमा कहिले नियुक्त गरिएको थियो भन्ने कुरा स्पष्ट रूपमा खुलाएका छैनन् ।
त्रिविले नै प्रकाशन गरेको एउटा प्रकाशनले पनि उपाध्याय नै त्रिविको पहिलो रेक्टर हुन भन्ने तथ्यलाई पुष्टि गर्छ । 

‘त्रिविका दीक्षान्त भाषणहरूको संग्रह ०१७–०७४’ प्रकाशन भएको छ । उक्त प्रकाशनमा ‘पहिलो दीक्षान्त समारोह विसं ०१७ चैत ९ मा रेक्टर शारदाप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको’ उल्लेख छ । यो तथ्यले पनि अहिले त्रिविले मान्दै आएका शाक्य पहिलो रेक्टर नभई उपाध्याय हुन् भन्ने तथ्यलाई पुष्टि गर्छ ।

को हुन् उपाध्याय ?



शारदाप्रसाद उपाध्याय राणाकालीन सुब्बा शंकरप्रसादका सात छोरामध्ये माहिला छोरा हुन् । उनको पुख्र्याैली घर रामेछापको कुवापानी हो । जीवनका ५० वर्ष शिक्षा क्षेत्रमा बिताएका उपाध्याय राणाविरोधी अभियानमा पक्राउसमेत परेका थिए । उनको तत्कालीन राजा त्रिभुवनसँग सुमधुर सम्बन्ध रहेको जानकारहरू बताउँछन् ।

उनी विसं ०१० मा शिक्षा विभागको निर्देशकसमेत भएका थिए । विसं ०१२ मा त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि समिति गठन गर्दा उपाध्याय त्यसको सदस्य रहेका थिए ।



त्यसपछि उनी ३० असार ०१९ देखि २ वैशाख ०२२ सम्म ट्रेजरर पदमा समेत काम गरे । त्रिविले ‘पहिलो रेक्टर’को रूपमा उल्लेख गरेका शाक्य भने १ वैशाख ०२९ देखि १५ कार्तिक ०३० सम्म त्रिविको रेक्टरको जिम्मेवारीमा थिए । लामो समय शिक्षाको विकासमा योगदान दिएका उपाध्यायको ९८ वर्षको उमेरमा ०७० साल साउन १९ गते निधन भएको थियो ।

उपाध्यायको निधन भएको करिब तेस्रो सातापछि उनीप्रति श्रद्धाञ्जली अर्पण र शोक मनाउन त्रिविले सूचना प्रकाशित गर्याे । त्रिविको उक्त सूचनामा उनलाई ‘रेक्टर’ को रूपमा प्रस्तुत गरिएको थिएन, त्यसमा ‘पूर्वउपकुलपतिको समेत कार्यभार सम्हालेका ट्रेजरर पदका तत्कालीन पदाधिकारी’ भनेर सम्बोधन गरिएको थियो ।

त्यस्तै, यसअघिसम्म त्रिवि कार्यालयमा ‘रेक्टर’ भनेर क्रमशः राखिएका तस्बिरमा सूर्यबहादुर शाक्यलाई अग्रस्थानमा राखिएको थियो । तर, अहिले त्रिविले आफ्नो भुललाई सच्याएको छ ।

त्रिभुवन विश्वविद्यालय स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उपाध्यायलाई त्रिविले ढिलै भए पनि पहिचान गर्ने काम गरेको छ ।

  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १६:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया