पाकिस्तानमा बिहीबार आमचुनाव, ५ हजार उम्मेदवार प्रतिस्पर्धामा

पाकिस्तानमा बिहीबार आमचुनाव हुँदैछ । महँगीले आकाश छोएर आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी जनता आगामी पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन् । 

पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका अधिकांश सदस्य जनताद्वारा निर्वाचित हुन्छन् । राष्ट्रिय सभामा कुल ३३६ सिट छन्, जसमध्ये २६६ सिटका लागि जनताले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् । 

पञ्जाब प्रान्तमा सबैभन्दा बढी १४१ सिटमा निर्वाचन हुँदैछ । सिन्धमा ७५, खैबर पख्तुनख्वामा ५५, बलुचिस्तानमा २० र इस्लामाबादमा तीन सिट छन् । यसपटक २६६ सिटका लागि ५ हजार १२१ जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये ४ हजार ८०६ पुरुष, ३१२ महिला र दुई जना तेस्रोलिङ्गी उम्मेदवार छन् । 

पाकिस्तानमा हाल १२.८५ करोड मतदाता छन्, जुन देशको कुल जनसंख्याको आधाभन्दा बढी हो । जसमध्ये ६.९ करोड पुरुष र ५.९ करोड महिला मतदाता रहेका । दर्ता भएका मतदातामध्ये पनि ४४ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन् ।

यसपटक पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग र बिलावल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टी छन् । निर्वाचन आयोगले इमरान खानको पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) को चुनाव चिन्ह रोक्का गरेको छ । यसकारण पीटीआई उम्मेदवार स्वतन्त्ररूपमा चुनावी मैदानमा छन् । 

यो निर्वाचनमा कुल ९० हजार ५८२ मतदान केन्द्र तोकिएको छ । तीमध्ये १७ हजार ५ सय मतदान केन्द्र संवदेनशील भनिएका छन् । सन् २०१८ यता देशमा मतदाताको संख्या २.२५ करोडले बढेको छ । जसमा १.२५ करोड महिला छन् । 



सन् २०१८ मा भएको आम निर्वाचनमा ५२ प्रतिशत जनताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । 



  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार ९:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया