राजेन्द्र लिङ्देनको प्रस्ताव : देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ
‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ’
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले देश वर्तमान अवस्थामा अडिराख्न नसक्ने बताएका हुन् ।

लिङ्देनले देशले अवलम्वन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए । ‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडि बढ्न सक्दैन । अहिले यो कुरा राप्रपाले मात्रै होइन,’ लिङ्देनले भने, ‘यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्विकारीसक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन । 

उनले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणीसमेत गरे । लिङ्देनले कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

‘अहिले जनताले के भन्छन्, लुटतन्त्र हो । केही सीमित राजनीतिक दल र ती सीमित राजनीतिक दलका पनि सीमित नेताहरूका मुठीमा देश कैद भयो । उनीहरूको लागि मात्रै भयो । त्यसकारण अब देश यहीँ अडिराख्न सक्दैन । देशलाई यही अवस्थामा राखिराख्न सकिँदैन । म भन्न चाहन्छु, सबै दलहरूको ध्यानाकर्षण गर्न चाहन्छु, केवल सरकारको मात्रै होइन, सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गर्न चाहन्छु,’ लिङ्देनले भने, ‘राप्रपाले पछाडि फर्किने कुरा गरेको होइन । तर, अब देश यहीँ बसिराख्न पनि सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्छ । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो । हाम्रो अहम् तुष्टिको लागि देशलाई बन्धक नबनाऔँ । सबै मिलेर नयाँ सम्झौता गरेर नवीन बाटोमा देशलाई अगाडि लैजाऔँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’ 

उनले विभिन्न भ्रष्टाचारका काण्ड आए पनि त्यसको निष्पक्षरूपमा छानबिन हुन नसकेको पनि आरोप लगाए । 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १४:३५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया