पाकिस्तानमा निर्वाचनलक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्व सन्ध्यामा गरिएका दुई वटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ  । घटनामा अन्य ४२ जना घाइते भएका छन् । 

बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो । विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

त्यसको एक घण्टा नबित्दै किल्ला अब्दुल्ला क्षेत्रमा जमियत–उलेमा इस्लाम–पाकिस्तानको चुनावी कार्यालय बाहिर अर्को बम विस्फोट भएको छ । उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । 

बलुचिस्तान पन्जगुरका एक वरिष्ठ प्रहरी अधिकारी अब्दुल्लाह जेहरीले उम्मेदवार अस्फन्दयार खान काकरको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटको घटनामा बम टाढाबाटै विस्फोट गराइएको र भवन बाहिर एउटा झोलामा राखिएको खुलेको बताए । 

‘केही घाइतेको अवस्था गम्भीर छ र उनीहरूलाई उपचारको लागि क्वेटा लगिएको छ,’ उनले भने । विस्फोटमा परी मृत्यु हुनेमा अहिलेसम्म १७ जनाको शव भेटिएको तर मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

‘आतंकवादीहरूले चुनावी उम्मेदवारहरूलाई लक्षित गरी मानिसहरूलाई मतदान केन्द्रहरूमा जानबाट रोक्नको लागि लक्षित गरिरहेका छन् तर निर्वाचन निर्धारित समयमै अघि बढ्न सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थप गरिएको छ,’ जेहरीले भने । 



स्थानीय मिडिया रिपोर्टका अनुसार किल्ला अब्दुल्ला क्षेत्रमा जेयूआई उम्मेदवारको चुनावी कार्यालयमा भएको शक्तिशाली विस्फोटमा ठूलो क्षति भएको थियो, जसमा आठ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानको निर्वाचन आयोगले दुई विस्फोटको पुष्टि गर्दै बिहीबार हुने निर्वाचनका लागि प्रान्तमा सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिएको छ । 



  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १७:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया