शिक्षकलाई बिगारेको हामीले हो, म त्यसको जिम्मेवारी लिन्छु : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताएका छन् । 

आज सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको शिक्षक सेवा आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले त्यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गरे । 

उनले भने, ‘आयोगलाई स्वायत बनाउन आवश्यक छुट्टै कानुन बनाउन हामी तयार छौँ, तर विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस, त्यसमा हाम्रो समर्थन छ, आयोगलाई स्वायतता सुनिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले कुनै अवरोध गर्दैन ।’

त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने काम भए तत्परताका साथ अघि बढाउने भन्दै उनले आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न पनि मन्त्रालय तयार रहेको बताए । 

कार्यक्रमका वक्ताले आयोगको समस्याबारे शिक्षा मन्त्रालयको ध्यान पुग्न नसकेको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले भने, ‘आयोगमा मन्त्रालयको ध्यान नपुगेको हुन सक्ला, तर ध्यान पुगेर मात्रै हुँदैन । सीमित साधनस्रोतले पनि काम भइरहेको छ कि जस्तो लागेको छ । म मन्त्री भएपछि आयोगको एउटै पनि गुनासो सुन्न परेको छैन । यहाँ राम्रो ढंगले काम भएकै कारण गुनासो नआएको होला भन्ने मलाई लागेको छ ।’

शिक्षकलाई राजनीतिक दलले नै बिगारेको बताउँदै उनले भने, ‘म शिक्षकको प्रंशसक हुँ, तर शिक्षक साथीलाई बिगारेको हामीले हो, म त्यसको जिम्मेवारी लिन्छु, शिक्षकलाई आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।’ 



आन्दोलनका क्रममा शिक्षकसँग गरेको सम्झौता मुलुककै आर्थिक अवस्था कमजोर भएका कारण कार्यान्वयनमा आउन नसकेको बताउँदै उनले सरकारले शिक्षकसँग सम्झौता गरे पनि आर्थिक अभावका कारण कार्यान्वयन गर्न नसक्दा शिक्षा मन्त्रालयले गाली खाइरहेको बताए । 

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले सामुदायिक विद्यालय सुधारको जिम्मा शिक्षक सेवा आयोगलाई दिनुपर्ने बताउँदै यसका लागि आयोगलाई लोकसेवा आयोगको जस्तै बनाएर लानुपर्ने औँल्याइन् । 



आयोगले शिक्षकलाई लाइसेन्स दिए पनि लाइसेन्स प्राप्त शिक्षकलाई बाल मनोविज्ञानको ज्ञान भने नभएको टिप्पणी गर्दै उनले भनिन्, ‘शिक्षकसँग बालबालिकाको मनोविज्ञानको ज्ञान हुनुपर्छ । शिक्षकसँग लाइसेन्स छ, तर पढाउन जान्दैनन् । जबसम्म शिक्षकले विद्यार्थी बुझ्न सक्दैन तबसम्म शिक्षाको विकास हुँदैन । मैले २५ वर्षसम्म माध्यमिक शिक्षक भएर सेवा गरे, त्यो बेला तालिम थियो । अहिले कटौती भएको छ । तालिम बढाउनुपर्छ ।’

कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष डा. लवदेव अवस्थीले आयोगको पहिचान शिक्षा ऐनमा समावेश हुँदा स्वायत हुन नसकेको भन्दै आयोगलाई स्वायत बनाउने हो भने छुट्टै कानुन आवश्यक रहेको बताए । 

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले योग्य शिक्षक छनौट गर्ने मानक बनाएर काम गरेको बताउँदै आयोगले गर्ने काममा शंका नगर्न आग्रह गरे । अकबरी सुनलाई कसी लगाउनुपर्दैन भन्दै उनले आयोगले २४ क्यारेटको शिक्षक छनौट गर्ने नीति अवलम्बन गरेकाले शुद्धता, निष्पक्षता र विश्वासनीयतामा शंका नगर्न आग्रह गरे । आयोगलाई भौतिक, जनशक्ति र आर्थिक समस्या रहेको उनले गुुनासो गरे । 

  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार २२:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया