अर्थले बजेट नदिँदा कक्षा ६ का विद्यार्थीकाे दिवा खाजा कटाैती

देशभरका सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीले आगामी वर्षबाट दिवा खाजा नपाउने भएका छन् । अर्थ मन्त्रालयले खाजाका लागि आवश्यक रकम विनियोजन नगरिदिँदा ६ कक्षामा अध्ययनरत विद्यार्थीले खाजा खान नपाउने भएका हुन् । 

चालू आर्थिक वर्ष सुरु भएको सात महिना बित्दा पनि अर्थ मन्त्रालयले बजेट निकासा गरिदिएको छैन । प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीले पाउँदै आएको दिवा खाजालाई सरकारले गत आर्थिक वर्ष २०७९÷०८० बाट ६ कक्षासम्म विस्तार गरेको थियो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विद्यालय दिवा खाजालाई कक्षा ८ सम्म विस्तार गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७९÷०८० बाट ६ कक्षासम्म दिवा खाजा कार्यक्रम लागु गर्ने घोषणा बजेट भाषणमार्फत गरेका थिए । अघिल्लो वर्ष कक्षा ६ मा अध्ययनरत विद्यार्थीले खाजा खान पाए पनि यो वर्ष भने खाजा खान नपाउने भएका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाउन आवश्यक बजेट स्वीकृत नगरेकाले रकम उपलब्ध गराउन नसकेको जानकारी दिए ।

उनका अनुसार यो वर्ष कक्षा ६ का विद्यार्थीले खाजा खान पाउने छैनन् । अर्थ मन्त्रालयलाई बजेट विनियोजन गरिदिन पत्राचार गर्दा पनि रकम उपलब्ध नभएको उनको भनाइ छ ।

उनले भने, ‘अर्थ मन्त्रालयले रकम उपलब्ध गराउन मानिरहेको छैन । यो वर्ष कक्षा ६ का विद्यार्थीले खाजा खान पाउने सम्भावना देखेको छैन ।’ कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब ६ लाख रहेको छ । उनका अनुसार अहिले कक्षा ५ सम्मका विद्यार्थीले मात्र खाजा पाइरहेका छन् ।



सरकारले दिवा खाजा कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ८ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, उक्त रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्र पुग्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

आर्थिक रूपमा सबल सहरी क्षेत्रका केही स्थानीय तहका तथा आम्दानीको स्रोत भएका विद्यालयले कक्षा ६ सम्मकै विद्यार्थीलाई खाजा खुवाउने गरे पनि अधिकांश विद्यार्थी खाजा खान पाएका छैनन् ।



काठमाडौं महानगरपालिकाभित्र रहेको पद्मोदय माध्यमिक विद्यालयका प्राधानाध्यापक नारायणप्रसाद गौतमले कक्षा १० सम्मका विद्यार्थीलाई नै खाजा उपलब्ध गराइरहेको जानकारी दिए ।

उनका अनुसार महानगरले दिवा खाजाबापत दिने रकममा विद्यालयले थप गरेर विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ । प्रधानाध्यापक गौतमले भने, ‘आम्दानीको स्रोत भएका विद्यालय र स्थानीय पालिकाले खाजा खुवाएका छन्, तर आम्दानीको स्रोत नभएका अधिकांश विद्यालयले खुवाउन सकेका छैनन् ।’

उनले संघीय सरकारबाट कक्षा ५ सम्मका विद्यार्थीको लागि मात्र खाजाको रकम आएको जानकारी दिए । उनले भने, ‘सरकारले ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरेको थाहा छ, तर अहिलेसम्म ५ भन्दा माथिल्लो कक्षाका विद्यार्थीको खाजाबापतको पैसा भने आएको छैन ।’

त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका शिक्षा विभाग प्रमुख बलवीर विकले कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाउन संघीय सरकारले रकम उपलब्ध नगराएको जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष कक्षा ६ सम्मकै विद्यार्थीले खाजा खान पाएका थिए, तर यो वर्ष रकम नआएका कारण ६ कक्षाका विद्यार्थीको खाजा कटौती भएको छ ।

खाजाका लागि आवश्यक रकम उपलब्ध गराई दिन शिक्षा मन्त्रालयले पत्राचार गरे पनि अर्थ मन्त्रालय त्यसको जवाफ नफर्काएको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिए ।

संघीय सरकारले दिवा खाजाका लागि साविकका कर्णाली अञ्चलका पाँच जिल्लाका विद्यार्थीलाई प्रतिदिन २० रुपैयाँका दर रकम उपलब्ध गराउँदै आएको छ भने बाँकी ७२ जिल्लाका विद्यार्थीलाई प्रतिदिन १५ रुपैयाँका दरले १८० दिनका लागि रकम उपलब्ध गराउँदै आएको छ ।
 

  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १७:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया