सांसदहरूको असन्तुष्टि : उपकुलपति छनोटमा किन नौटंकी ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाको विषयलाई लिएर सांसदहरूले असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया गलत भएको बताएका हुन् । 

उनीहरूले छनोट प्रक्रिया गलत भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले उपकुलपति छनोटको प्रक्रियालाई खारेज गर्दै नयाँ प्रक्रिया आरम्भ गर्न मागसमेत गरेका छन् । बैठकमा बोल्दै नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विभिन्न आरोपका आरोपितहरूले आवेदन दिएको भन्दै उनीहरूको योग्यतामाथि प्रश्न उठाउनुपर्ने बताइन् । उनले आरोपितहरूको आवेदन स्वीकार गर्दा छनोट प्रक्रियामाथि प्रश्न उठेको बताइन् । 

उनले भनिन् ‘हामी मेरिटोक्रेसीको कुरा गर्छौं भने टियुको भिसी भनेको एकेडेमिक लिडरसिप हो । अनि एकेडेमिक लिडरसिपमा बसेकाहरूले जब आफूले अप्लाई गर्दाखेरि सिफारिस समितिले एकेडेमिक लिडरसिपलाई चयन गरिरहँदा आज आरोपित मान्छेहरूलाई नै अप्लाई गर्न ठाउँ दिन्छौँ भने नैतिकताको प्रश्न कहाँ रहन्छ भन्ने कुरा हो । प्रश्न के उठ्छ भने त्यसलाई करेक्सन गर्नका लागि ठाउँ दिनुपर्यो । त्यस्तो संयन्त्र बनाउनुपर्यो । त्यो त छैन । आरोप लागेकाहरुले त्यहाँ गएर अप्लाई गर्न पाउने कुरा जबसम्म रहन्छ, त्यो मेरिटोक्रेसी हुने कि नहुने ?’

त्यस्तै नेकपा(एमाले)कै सांसद सरिता भुसालले उपकुलपति छनोटका लागि सक्षम व्यक्तिको खोजतलास नगरिएको बताइन् । उनले विदेश पलायन भइरहेका विद्यार्थीहरूलाई रोक्ने विचार भएका व्यक्ति उपकुलपति बन्नुपर्ने बताइन् । 

‘जतिजनाको निवेदन आएको छ के उहाँहरू मात्रै सक्षम हुनुहुन्छ जस्तो लाग्छ त ? यसमा अनुभवको आधारमा, कार्यदक्षताको आधारमा पनि त गर्न सक्नुहुन्थ्यो । सक्षम व्यक्तिको खोजतलास गरिएन,’ उनले भनिन्, हजारौँ संख्यामा विद्यार्थीहरू बाहिरिएका छन्, बाहिर पलायन भएका विद्यार्थीलाई कसरी रोक्ने भन्ने खालको विचार भएको व्यक्ति उपकुलपतिमा आउनुपथ्र्यो । त्यसमा कसरी हेरिराख्नुभएको छ ?’

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सिफारिस समितिले गलत बाटो समातेको बताए । उनले सिफारिस समिति उपकुलपतिको छनोटका लागि लोकसेवाको प्रक्रियाजस्तै गरी अगाडि बढिसकेको भन्दै कसैले पनि यस्तो, उस्तो गर्नुस् भनेर निर्देशन दिन नमिल्ने बताए । 



‘यो सिफारिस समिति अब कहाँ गइसक्यो भने अब ब्युरोक्रेसीतिर गइसक्यो । मापदण्ड बनाएको छ । मापदण्ड अनुसारको व्यक्तिको योग्यता छ कि छैन ? त्यसले कति नम्बर ल्याउँछ ? लगायतका कुरा सिलबन्दीको रुपमा गइसक्यो । लोकसेवाको सिस्टममा गइसक्यो मेरो विचारमा,’ उनले भने, ‘१४ जना ल्याउने सन्दर्भमा उहाँहरूले कति फियर गर्नुभएको छ ? भन्ने कुरा हामीले सोध्ने कुरा मात्रै हो । तपाईंहरू यसो गर्नुुस् भन्ने कुरा होइन । उसको योग्यताको मापन त मापदण्डले गरिसकेपछि हामीले कसरी भन्न सक्छौँ ? हामीले हस्तक्षेप गर्न सक्दैनौँ । सिफारिस समितिले गतल बाटो लिइसक्यो मेरो विचारमा । अधिकतम विवेक प्रयोग गर्ने बाटोबाट ब्युरोक्रेटिक बाटो, जडताको बाटो, अंकगणितीय बाटोमा गइसकेपछि हामीले भन्न सक्दैनौँ तपाईंले यो कसरी गर्नुभयो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्नु नहुने धारणा राखिन् । उनले अनुभव र ज्ञान भएको मान्छेलाई राज्यको उच्च पदमा राख्नुपर्ने बताइन् । 



‘शिक्षा क्षेत्रमा विश्वविद्यालय, स्कुल, कलेज हरेक फिल्डमा राजनीतिक हस्तक्षेप छ । राजनीतिक दलहरुको हस्तक्षेप छ । त्यसै कारणले गर्दा आज हाम्रो देशको शिक्षा धरातलमा छ,’ उनले भनिन्, ‘मेरो प्रश्न यो छ कि कहिलेसम्म राजनीतिक दलहरुको विश्वविद्यालयमा हस्तक्षेप रहनेछ ? किन यस्तो भइरहेको छ ? किन राजनीतिकसँग सम्बन्धित व्यक्ति नै कुलपति वा प्रोफेसर हुनुपर्छ ? किन अनुभव र ज्ञान भएको मान्छेलाई उच्च पदमा राख्न सकिरहेका छैनौँ ?’

नेकपा (एमाले)की सांसद ईश्वरी घर्तीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा हालका निमित्त उपकुलपतिलाई नै नियुक्त गर्नेगरी प्रपञ्च गरिएको बताइन् । उनले प्रधानमन्त्रीले नै यस विषयमा नाटक गरेको टिप्पणी गरिन् । 

‘निमित्त भिसी जो हुनुहुन्छ उहाँलाई नै भिसी बनाउनेगरी यो सबै नाटक, प्रपञ्च गरिएको छ भन्नेकुरा प्रस्ट हुन्छ,’ उनले भनिन्, ‘यदि निमित्त भिसीलाई नै भिसी बनाउन यस्तो वातावरण बनाउनु थियो भने प्रधानमन्त्रीले मिडियामा मैले त अब त्रिभुवन विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउँछु । आवश्यक परे म कुलपति बाट राजीनामा दिन पनि तयार छु भनेर किन नाटक गरेको ? त्यो नाटक गरेकै जस्तो देखिन्छ ।’

उनले हालका निमित्त उपकुलपतिले आफ्नो क्षेत्राधिकार मिचेर विभिन्न पदमा नियुक्ति गरेको भन्दै ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने बताइन् ।  

  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार २२:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया