अस्थिर राजनीतिको मारमा वीर : विपन्न बिरामीको बिचल्ली

महाबौद्धकी आशा श्रेष्ठ छातीमा समस्या महसुस भएपछि सोमबार बिहानै नजिकैको वीर अस्पताल पुगिन् । बिहानको करिब ८ बजे आइपुगेकी आशालाई टिकट काउन्टरमा पालो पाउन करिब डेढ घण्टा कुर्नुपर्यो । अस्पतालमा लामो लाइन भएका कारण करिब साढे ९ बजेतिर मात्रै उनले टिकट काट्न पाइन् ।

बल्लतल्ल टिकट लिएर स्वास्थ्य परीक्षणका लागि ओपिडीमा जाँदा अघिको भन्दा दुईगुणा लामो लाइन थियो । करिब ३ घण्टा कुरेपछि मात्रै बल्ल उनले पालो पाइन् । ‘सरकारी अस्पताल भएकाले देशभरिका बिरामी यहीँ आउँदा रहेछन् । धन्न बल्लतल्ल स्वास्थ्य जाँच गराउन पाएँ । आज पालो नआएको भए अर्को दिन आउनुपथ्र्यो,’ उनले भनिन् । 

आशालाई केही दिनदेखि लामो श्वास लिँदा वा फेर्दा च्वास्स छातीको एकातिर (कहिले दायाँ, कहिले बायाँ) करङमा दुखेको महसुस हुन्थ्यो । त्यति मात्रै होइन, स्वाँस्वाँ हुने, ज्वरो आउने लक्षण देखिएपछि उनी उपचारका लागि अस्पताल आएकी हुन् । आशालाई निमोनिया भएको हुनसक्ने भन्दै चिकित्सकले थप स्वास्थ्य परीक्षण गर्न सुझाएका छन् । ‘डाक्टरले निमोनियाको लक्षण देखिएको छ । छातीको एक्सरे गर्नुपर्छ’ भन्नुभएको छ । दुखाइ कम गर्नका लागि केही औषधि पनि लेखिदिएका छन्,’ उनले भनिन् । ‘चिकित्सकले एक्सरे गनुपर्छ’ भनेपछि उनी पुनः एक्सरेका लागि समय लिन लाइनमा लागिन् । त्यहाँ पनि उनले लाइनमा डेढ घण्टा कुरेर तीन दिनपछिको पालो पाएकी छिन् । 

यो समस्या आशाको मात्र होइन, उपचारका लागि देशका कुनाकन्दराबाट वीर अस्पताल आइपुग्ने हरेक बिरामीले दैनिक भोग्नुपर्ने समस्या हो । आर्थिक क्षमता बलियो हुनेहरूले त निजी क्लिनिक र नाम चलेका अस्पतालमा उपचार पाउलान्, तर रोगले यो धनी, यो गरिब भन्दैन । रोग लागेपछि उपचार गर्नैपर्यो । तर, अर्थिक विपन्नताको मारमा रहेका गरिब नेपाली उपचारका लागि आउने अस्पताल भनेको वीरलगायत सरकारी अस्पताल नै हुन् । यी अस्पतालको बेहाल भोग्नेलाई मात्र थाहा छ ।

बाजुराका दिलबहादुर शाही आमालाई छातीमा समस्या देखिएपछि स्थानीय अस्पतालमा पुर्याए । स्थानीय अस्पतालले ‘फोक्सोमा समस्या छ, काठमाडौंमा मात्र उपचार सम्भव छ’ भन्यो । त्यसपछि पाँच दिनअघि मात्र दिलबहादुरले आमालाई उपचार गराउन काठमाडौं लिएर आए । 

आमालाई उपचारका निम्ति अस्पतालमा भर्ना गराउन मात्र होइन, छिनछिनमा आवश्यक पर्ने औषधि खरिद गर्नसमेत घण्टौँ लाइन बस्नुपर्दा साह्रै झन्झट खेपिरहेको शाहीको गुनासो छ । ‘गरिब नागरिकले उपचार पाउन धेरै मुस्किल रहेछ, यो वीर अस्पतालमा त । घरी यता कुदा’को छन्, घरी उता, फेरि डाक्टरले भनेको सबै औषधि अस्पतालभित्र नपाइँदो रहेछ । बाहिर जाँदा पनि त्यस्तै लाइन । सहज रहेनछ, यो अस्पतालमा उपचार गराउँन,’ उनी भन्छन् । देशकै पहिलो सरकारी अस्पताल भएकाले पनि यहाँ बिरामीको धेरै चाप भएको हुनसक्ने शाहीको बुझाइ छ । तर, बिरामीको चापअनुसार सरकारले आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउन नसक्दा दैनिक सयौँ दिलबहादुरहरूले सास्ती भाग्दै आएका छन् । 
 
वीर किन बिरामी ?



वीर अस्पताल नेपालको सबैभन्दा जेठो अस्पताल हो । आजभन्दा करिब डेढ शताब्दीअघि तत्कालीन श्री ३ महाराजा वीर शमशेरको पहलमा सो अस्पतालको स्थापना भएको हो  । विशेष गरी विपन्न एवं असहाय वर्गका लागि लक्षित गरेर १५ साउन १९४७ मा १५ वटा अन्तरंग शय्यासहित वीर अस्पतालको स्थापना भएको हो ।
सबै जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्य राखेर स्थापना भएको वीर अस्पताल अझै पनि सर्वसाधारणले उपचारका लागि आउँदा खेप्नुपर्ने सास्ती कम गर्न सक्षम भइसकेको छैन । स्वास्थ्यकर्मी तथा बेड अभावमा अस्पताल आउने बिरामीले समयमै र सहजै उपचार पाएको अवस्था छैन । 

वीरमा आपत्कालीन अप्रेसनसमेत समयमा सम्भव छैन । सामान्य अप्रेसनका लागि बिरामीले पाँच महिनासम्म समय पर्खनुपर्ने अवस्था छ । उपचार रकम भुक्तानी तथा औषधि खरिद गर्न मात्र पनि घण्टौँ लाइन बस्नुपर्ने अवस्था जगजाहेर नै छ । 



बिरामी कुरुवा तथा आफन्तहरूका आफ्नै पीडा छन् । समयमा मर्मत हुन नसक्दा वीर अस्पतालका भेन्टिलेटरसहितका १९ उपकरण वर्षौंदेखि थन्किएका छन् । स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी नहुँदा स्वास्थ्य उपचारका लागि देशका कुनाकाप्चा र दुर्गम भेगबाट आएका विपन्न बिरामीको बिचल्ली छ । तर, यी तमाम समस्या अस्पतालमा कार्यरत कर्मचारी तथा व्यवस्थापनका कारण नभएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । ओपिडीमा एउटै डाक्टरले ६० जनाभन्दा धेरै बिरामी हेरेर पनि त्यही डाक्टरले बिहान गएर राउन्ड लिनुपर्ने, त्यही डाक्टरले अप्रेसन पनि गर्नुपर्ने, त्यही डाक्टरले इमर्जेन्सी पनि हेर्नुपर्ने बाध्यता रहेकाले यो अवस्था सिर्जना भएको उनको भनाइ छ ।

भौतिक संरचनाका विषयमा आर्थिक समस्याका कारण व्यवस्थापनले चाहेर पनि काम गर्न नसकेको पौडेल बताउँछन् । उनका अनुसार वीर अस्पतालको यो बेथितिको मुख्य दोष राजनीतिक दल, तिनको नेतृत्व र अस्थिर सरकारलाई जान्छ । वीर अस्पताललाई साँच्चै सुधार्ने हो भने, मुलुकमा स्थिर सरकार निर्माण हुन आवश्यक देखिन्छ । साथै, राज्यका सबै स्टेकहोल्डरबाट वीर अस्पताल सुधारका लागि बलियो कमिटमेन्ट आवश्यक देखिएको उनले औँल्याए ।

वीर अस्पताल चरम आर्थिक संकटमा धकेलिएको इतिहासमै यही आर्थिक वर्ष मात्र भएको त्यहाँ लामो समय बिताएका कर्मचारीसमेत बताउँछन् । समग्र स्वास्थ्य क्षेत्रमा बजेट घट्दाको प्रत्यक्ष मारमा वीर अस्पताल पनि परेको निर्देशक डा. पौडेलको भनाइ छ ।

वीर अस्पताललाई गत वर्ष २६ करोड अनुदान दिइएको थियो । चालू आर्थिक वर्षमा यो रकम एक करोड १६ लाख रुपैयाँमा सीमित गरियो । नियमित अस्पताल सञ्चालनका निम्ति गतवर्ष एक अर्ब ४३ करोड रुपैयाँ छुट्याइएकामा चालू आर्थिक वर्षमा यो रकम ७३ करोडमा झारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

निर्देशक डा. पौडेलका अनुसार सेवा विस्तार भत्ता नपाएका कर्मचारीका निम्ति मात्र मासिक दुई करोड ४३ लाख ५६ हजार रुपैयाँ रकम आवश्यक हुन्छ । न्याम्सका ३१७ कर्मचारीलाई मासिक एक करोड ७४ लाख रुपैयाँ दिनुपर्ने हुन्छ । राति ड्युटी गरेबापत स्वास्थ्यकर्मी र कर्मचारीलाई मासिक २८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

गतवर्षको तथ्यांकअनुसार अस्पतालको आन्तरिक आय ५५ करोड रुपैयाँ छ । त्यसको ७० प्रतिशत रकम कर्मचारीको नियमित पारिश्रमिकमा खर्च हुने गरेको निर्देशक पौडेल बताउँछन् । ‘अस्पतालको आन्तरिक आम्दानीबाटै केही थामथुम पारिरहेका छौँ, ढुक्क भएर बस्ने अवस्था भने छैन,’ डा. पौडेलले भने ।

  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार २०:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया