नेपाली सेनालाई जिम्मा दिएर बुटवल धागो कारखाना ब्युँताउँदै सरकार
सेनामाथि आफ्नो मूल जिम्मेवारीबाट मोडिएर अन्यत्र गएको आरोप

जीर्ण बनेको बुटवल धागो कारखानाले पुनर्जीवन पाउने चर्चा फेरि एकपटक सुरु भएको छ । उक्त कारखानाले पुनर्जीवन पाउने चर्चा चलेको यो पहिलोपटक भने होइन । बेलाबखत सरकारले नै धागो कारखाना सञ्चालन गर्ने बताउँदै आए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । तर, फेरि एकपटक माकुराको जालोले बेरिएको उक्त कारखाना सञ्चालमा ल्याउने चर्चा सुरु भएको छ । 

यसपटक नेपाली सेनाले बन्द अवस्थामा रहेका बुटवल धागो कारखाना सञ्चालन गर्ने योजना बनाएको छ । नेपाली सेनाले गएको हप्ता प्रधानमन्त्रीलगायत मन्त्रीहरूलाई हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्भाव्यता अध्ययनबारे ‘ब्रिफिङ’ गरेको थियो । 

उक्त ‘ब्रिफिङ’मा सेनाले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्नेसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा बुटवल धागो कारखाना पनि दुई वर्षभित्र सेनालाई सञ्चालन गर्न दिन अध्ययन थाल्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष ०८२–८३ मा धागो उत्पादनमा आत्मनिर्भर हुन बुटवल धागो उद्योगलाई पुनः सञ्चालन गर्न सेनाले अध्ययन गर्नेछ र प्रतिवेदन तयार पार्नेछ । बुटवल धागो उद्योग पनि सेनाले सञ्चालन गर्नेछ ।’

सरकारले नेपाली सेनालाई हेटौँडा कपडा उद्योग सञ्चालनको जिम्मा दिएपछि सेनाले उद्योग सञ्चालन गर्न तीन वर्षको कार्ययोजना प्रतिवेदनमा प्रस्तुत गरेको हो । ०५७ सालदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग ०६० सालमै खारेजीमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसपछि दोस्रो जनआन्दोलनपछि तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय उद्योग चलाउने भन्दै पुनः यसलाई ब्युँताए । 

त्यतिबेला सरकारले उद्योग सञ्चालनका लागि आठ करोड रूपैयाँ खर्च गरेको थियो । तर, सञ्चालनमा ल्याउन सकिएन । सञ्चालन आउन नसक्ने देखिएपछि ०६६ सालमा पुनः खारेजीमा लगिएको थियो । तर, अहिले फेरि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानी र सेनाकै व्यवस्थापनमा सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन सरकारले गर्न लगाएको हो । त्यसैलाई आधार बनाएर जसमा कच्चापदार्थको रूपमा रहेको धागो उद्योेग पनि सेनाले सञ्चालनमा ल्याउनुपर्ने जनाएको हो । 



आलोचित हुँदै सेना 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले ०७४ वैशाख २१ गते फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । पाँच वर्षमा सम्पन्न हुनुपर्ने फास्टट्रयाकको काम हालसम्म हुन सकेको छैन । फास्ट ट्रयाकको जिम्मेवारी पाएकोे सात वर्ष पुग्नै लाग्दा पनि निर्माण कार्य कछुवाको गतिमा छ । हालसम्म २८.५६ प्रतिशत भौतिक प्रगति र २९.४४ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । काठमाडौं–तराई फास्टट्रयाक निर्माणको काममा गति दिन नसक्दा आलोचना खेपिरहेको सेनाले आफ्नै लगानीमा वर्षौंदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने योजना अघि सारेपछि फेरि आलोचित हुन थालेको छ । 



सडक उद्योग मात्र होइन, पेट्रोल पम्प सञ्चालनदेखि सपिङ कम्पलेक्स सञ्चालनसम्म सेना जोडिएपछि देशभित्रै ‘सेनाको काम के हो ?’ भनी प्रश्न उठ्न थालेको हो । यसअघि सेना ‘ठेकेदार’ बन्दै गएको आरोप लागिरहेको थियो भने अहिले ‘व्यवसायी’ पनि भयो भन्ने थपिएका छन् । सेना आफ्नो मूल जिम्मेवारीबाट मोडिएर अन्यत्र गएको आरोप धेरैको छ ।

चर्चा सधैँ, कार्यान्वयन शून्य

बुटवल धागो कारखाना प्रत्येक वर्षको बजेट भाषणपछि चर्चामा आउने गरेको छ । तर, सञ्चालनको चर्चा, चर्चामै सीमित हुने गरेको छ । सरकारले नीति तथा कार्यक्रम ०८०–८१ मा लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने बताएका थिए । उनले लामो समयदेखि बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्नेसमेत बताएका थिए । 

यस्तै, आर्थिक वर्ष २०७९–८० को बजेटमा पनि बुटवल धागो कारखानाले प्राथमिकता पाएको थियो । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा बुटवल धागो कारखाना सहित रुग्ण तथा बन्दप्रायः अवस्थाका रहेका उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । 

त्यस्तै, केही वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा पनि बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउने बताइएको थियो । त्यसका लागि जग्गा, भवन, उपकरण, व्यवसाय लगायतका चल–अचल, स्थिर सम्पत्ति ३० वर्षका लागि भाडा–पट्टा बहालमा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो । तर, पनि उक्त विषय टुंगोमा पुगेन । सरकारले सञ्चालनमा ल्याउने घोषणा मात्र गर्दैन, धेरै मन्त्रीहरूले उद्योगको अवलोकन नै गरेका छन् । पूर्व उद्योगमन्त्रीहरू अनिल झा, कर्णबहादुर थापा, महेश बस्नेत, सोमप्रसाद पाण्डे, नवीन्द्रराज जोशीलगायतले कारखानाको अवलोकन गरेका थिए । 

उनीहरूको अध्ययनपछि प्रतिवेदनहरू बने, तर त्यसको कार्यान्वयन हुन सकेन । यसरी ०६६ सालदेखि पूर्ण रूपमा बन्द भएको धागो कारखाना सञ्चालनका लागि प्रत्येक वर्ष चर्चा चल्छ । तर, व्यवहारमा यो कार्यान्वयनमा आएकै छैन । 

के भन्छन् उद्योगी ? 

उद्योगीहरूले जसरी भए पनि बुटवल धागो कारखाना सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै आएका छन् । लामो समयदेखि कारखाना बन्द हुँदा मेसिनका रबर तथा पार्टपुर्जा काम नलाग्ने भएको हुन सक्छन् । तर, तिनको मर्मत गरेर सञ्चालन गर्न सकिने बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् । ‘बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउन सके धेरै फाइदा हुन्छ,’ उनी भन्छन्, ‘उद्योगलाई बेवारिसे राख्न भएन । कारखाना बन्द हुँदा ठूलो घाटा छ ।’

उनका अनुसार सुरु–सुरुमा कारखानाबाट दैनिक १० मेट्रिक टन धागो उत्पादन हुन्थ्यो । तीन सिफ्ट गरी चौबीसै घन्टा चल्ने कारखानामा स्थायी, अस्थायी, करार र ज्यालादारी गरी धेरैले काम गर्थे । उक्त कारखानाबाट उत्पादित धागो हेटौँडा कपडा उद्योगमा मात्र नभई उत्पादित ८० प्रतिशत भारतमा पनि निर्यात हुने गरेको उनी सम्झन्छन् । भन्छन्, ‘यस कारखानाबाट सयौँले रोजगारी पाएका थिए । यो कारखानाका लागि बर्दियामा कपास उत्पादन गरिन्थ्यो । यहाँ ल्याएर धागो उत्पादन गरेर हेटौँडा लगेर कपडा उत्पादन गरिन्थ्यो । यहाँ उत्पादित धागो नेपालमा मात्र होइन, विदेशमा निर्यात समेत हुन्थ्यो । रामैसँग चलेको कम्पनी एकपछि अर्को कारणले गर्दा बन्द हुन पुग्यो । त्यसैले यस कारखानालाई जसरी पनि ब्युँत्याउनु पर्छ ।’

त्यसका लागि सरकारले केही वर्ष सञ्चालन गरेर निजी क्षेत्रलाई दिनुपर्ने उनको भनाइ छ । ‘सरकार आफैँले सञ्चालन गर्ने भए पनि ठिकै छ । तर, कारखाना सञ्चालन हुन सक्ने अवस्थामा पुर्याएर सरकारले निजी क्षेत्रलाई दियो भने अझ धेरै राम्रो हुन्थ्यो,’ उनी भन्छन् । तर, सरकारले प्रत्येक वर्ष यो कारखानाका बारेमा कुनै न कुनै रूपमा सञ्चालनको योजना बनाए पनि सफल नभएको उनी बताउँछन् । त्यसैले अहिले पनि उद्योग चल्नेमा विश्वास गर्न नसकिने उनको भनाइ छ । बुटवलको धागो कारखाना बुटवलवासीको गहना भएको बताउँदै उनी सरकारले स्पष्ट नीति ल्याएर बन्द गरेका उद्योग पुनः सञ्चालन गर्न सरकारसाग आग्रह पनि गरे । 

पुनर्जीवन पर्खिरहेको बुटवल धागो कारखाना

बुटवलको राजमार्ग चौराहाबाट साढे दुई किलोमिटर पूर्व लागेपछि बडेमानको भवनसँगै गेट देखिन्छ । पुरानो अनि ठूलो गेटमा लेखिएको छ, ‘बुटवल धागो कारखाना’ । कारखानाको गेटमा ३–४ जना प्रहरी ड्युटीमा खटिएको देख्न सकिन्छ । तर, गेटबाट भित्र प्रवेश गरेपछि थोत्रा गाडी, खिया लागेका ठूलाठूला मेसिन, मेसिनमा माकुराको जालो, फोहोर, धुलो–माटो देख्न सकिन्छ । नेपालको इतिहाससँग जोडिएको बुटवल धागो कारखानाको यस्तो हालत भएको १६ वर्ष भइसक्यो । 

नेपालगन्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने र हेटौँडामा कपडा उत्पादन गरी बजारमा पठाउने भन्दै बुटवलमा ०३९ मा बुटवल धागो कारखानाको स्थापना भएको थियो । तत्कालीन राजा वीरेन्द्रले मुलकलाई आत्मनिर्भर बनाउन यी उद्योग स्थापना गरेका थिए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको १७३ रोपनी क्षेत्रफलमा बुटवल धागो कारखाना फैलिएको छ । 

तर, व्यावसायिक उत्पादन भने ०४८ मंसिरबाट सुरु भएको थियो । उद्योगको दैनिक उत्पादन क्षमता १० टन उत्पादन भए पनि सात टन मात्रै हुन्थ्यो । तर, ०६४ फागुनबाट धागो उत्पादन बन्द हुन पुग्यो । धागो उत्पादन ०६४ सालमै बन्द भए पनि चार सय १६ कर्मचारीलाई ०६६ असोज १ गते पेअफमार्फत बिदा गरिएको थियो । त्यसपछि कारखानाको सुरक्षा भने प्रहरीले गरिरहेको छ । 

सयौँलाई रोजगारी दिन सक्ने बुटवल धागो कारखाना सञ्चालन भए यसले अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने देखिन्छ । तर, कारखाना राजनीतिक हस्तक्षेप र कर्मचारीको हडतालको सिकार बन्दा बन्द हुन पुग्यो । लामो समय कारखाना बन्द हुँदा करोडौँका भवन र मेसिन जीर्ण बनेका छन् । कुनै बेला बुटवल धागो कारखाना भनेपछि बुटवलको मात्रै नभई देशकै शान र पहिचानका रूपमा हेरिन्थ्यो ।

  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १९:३६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया