रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको कारागारमै मृत्यु

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शुक्रबार आर्कटिक जेल कोलोनीमा मृत्यु भएको रुसको सङ्घीय कारागार सेवाले बताएको छ । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए । 

नाभाल्नी टहल्न जाँदा बेहोस भएको र चिकित्सकहरूले उनलाई बचाउन नसकेको कारागार सेवाले जनाएको छ । ‘टहलेपछि नाभाल्नीले अप्ठ्यारो महसुस गर्नुभयो, उहाँ तत्काल बेहोश हुनुभयो, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स टिमलाई बोलाइयो’, कारागार सेवाले भनेको छ, ‘पुनर्जीवनको उपाय गर्दा सकारात्मक परिणाम आएन, प्यारामेडिकहरूले उहाँको मृत्युको पुष्टि गरे, मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’ 

रुसको अनुसन्धान समितिले उनको मृत्युको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । नाभाल्नीका प्रेस सचिव किरा यर्मिशले उनको टिमलाई मृत्युको सूचना नदिइएको बताए । उनले सामाजिक सञ्जालमा एक पोस्टमा भने, ‘एलेक्सीका वकिल उडानमार्फत अहिले खार्प गइरहेका छन् ।’ 

उनका प्रवक्तालाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई नाभाल्नीको मृत्युको जानकारी दिइएको बताएका छन् । रुसका सबैभन्दा प्रख्यात ४७ वर्षीय विपक्षी नेता नाभाल्नीले रुसमा भ्लादिमिर पुटिनको भ्रष्टाचारको आलोचना गरेपछि सबैभन्दा ठूलो सङ्ख्यामा अनुयायी बनाएका थिए । 
 
जर्मनीबाट रुस फर्केपछि सन् २०२१ को प्रारम्भमै उनलाई कारागारमा पठाइएको थियो ।  





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १९:४८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया