शिक्षामा राजनीति नगरौँ, विश्वविद्यालयको पढाइ युवा पलायन रोक्ने हुनुपर्‍यो : मुख्यमन्त्री पाण्डे
फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताएका छन् ।

गण्डकी विश्वविद्यालयको चौथो वार्षिकोत्सवको आज पोखरा महानगरपालिका–३२ मालमूलस्थित विश्वविद्यालयको मुख्य भवन परिसरमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देशको जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको बताए । 

विश्वविद्यालयले विद्यार्थीको विश्वास जित्न नसकेको उनको भनाइ छ । शिक्षा क्षेत्रमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै उनले यसका लागि सबै इमानदार बन्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले युवा पलायनसँगै घरवार, संस्कृतिका साथै पूँजी पलायन भइरहेका कारण यसबारे गम्भीर बन्नुपर्ने बताए । गण्डकी विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै अनुसन्धान एवं रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ ।   

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयको अभावका कारण नभइ प्रदेश एवं देशको आवश्यकता अनुसारको शिक्षा दिने सोचका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको स्पष्ट पारे । 

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले विश्वविद्यालयले देशका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने किसिमले त्यही किसिमका पाठ्यक्रम पढाउँदै अध्ययन अनुसन्धानमा जोड दिएको बताए ।   





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार २२:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया