रेखा थापा-सुनील शर्मा  : चुनावका प्रतिस्पर्धी, चलचित्रका प्रशंसक

नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा एउटा परिचयमा मात्रै सीमित छैनन् । अभिनयलाई मूल पेसा बनाएकी रेखा एक राजनीतिकर्मी पनि हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि रेखा सुरुमा सोही पार्टीमा आबद्ध थिइन् । माधव नेपालका पालामा सरकारविरुद्ध माओवादीले सिंहदरबारअगाडि आयोजना गरेको विरोध कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसँगै रेखाले नाचेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा देख्न पाइन्छ ।  

राजनीतिक रूपमा माओवादी अधोगतितिर लागेकाले हो या आफूलाई सो पार्टीले पर्याप्त ‘स्पेस’ नदिएर हो । केही वर्षपछि रेखा माओवादी पार्टी छाडेर राजावादी पार्टी राप्रपातिर लागिन् । राप्रपामा उनी महामन्त्रीको उम्मेदवार समेत बनिन् । राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीकी उम्मेदवार उनी कमल थापा प्यानलकी कुन्ती शाहीसँग पराजित भइन् । तैपनि उनले राजनीतिबाट हरेस खाइनन् । राप्रपामा निरन्तर लागिरहिन्, सोही लगावका कारण होला, राप्रपाले उनलाई २०७९ सालको आमनिर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको टिकट दियो । 

महिला भएकै कारण आरक्षण पाउनुपर्छ भन्ने धारणाको रेखा विरोधी हुन् । यदाकदा अन्तवार्तामा उनले सो कुरा बताउँदै आएकी पनि छिन् । चलचित्रमा अभिनेता मात्र ‘हिरो’ मान्ने परम्परालाई तोड्दै आफैँ हिरो बनेकी रेखाले राजनीतिमा पनि आरक्षणलाई भन्दा स्वस्थ प्रतिस्पर्धालाई नै प्राथमिकतामा राखिन् । त्यसकारण आफ्नै जन्मस्थान रहेको क्षेत्र मोरङ ३ बाट ‘हेबीवेट पर्सनालिटी’हरूसँग प्रतिस्पर्धामा उत्रिइन् । 

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा उनका प्रतिस्पर्धी थिए, एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनील शर्मा । ढकाल अनेरास्ववियुको अध्यक्ष हुँदै एमलेबाट पटकपटक मन्त्री भएका नेता हुन् भने शर्मा चर्चित मेडिकल व्यवसायी हुन् । सो निर्वाचनमा रेखाले जित हात पार्ने धेरैले अनुमान गरेका थिए । 

तर, सो क्षेत्रबाट नेपाली कांग्रेसका सुनील शर्मा भारी मतान्तरका साथ विजयी भए । दोस्रोमा एमालेका ढकाल आए भने रेखा तेस्रो भइन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । चुनावै जित्ने चर्चा गरिएकी रेखा भने १० हजार ९९८ मतमा सीमित भइन् । एकातिर शर्मालाई  गठबन्धनको साथ रह्यो भने अर्कोतिर रेखालाई एमाले–राप्रपा गठबन्धनबाट घात भयो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, एमले अध्यक्ष केपी ओलीलगायत नेता उठेको क्षेत्रमा गठबन्धन हुँदा रेखा उठेको क्षेत्रमा चुनावी तालमेल हुन सकेन । 

रेखाले उठ्न चाहेको निर्वाचन क्षेत्र मोरङ ३ मा एमालेले पनि सामान्य व्यक्ति उठाएन, दशकौँदेखि राजनीतिमा लागेर पटकपटक मन्त्री भएका सुरुमा भानुभक्त ढकाललाई उठायो । दुवै पराजित भए । दुईजनाले प्राप्त गरेको मत जोड्दा पनि विजयी उम्मेदवार शर्माको जति आउन सकेन, ११ हजार हाराहारीको अन्तर भयो । 



सो निर्वाचनपछि रेखा आफ्नै पार्टीका अध्यक्ष लिङ्देनसँग असन्तुष्ट बनिन् । राजनीतिलाई भन्दा आफ्नो मूल पेसा चलचित्र क्षेत्रलाई समय दिन थालिन् । आफ्नै निर्माणमा ‘उपहार’ फिल्म बनाएर प्रदर्शनको तयारी चलिरहँदा रेखा अमेरिका उडिन् । उनी ‘बच्चा पाउन’का लागि अमेरिका गएको भन्दै उनकै पार्टीका अध्यक्ष लिङ्देनले सार्वजनिक रुपमै कटाक्ष गरे । त्यसको केही दिनपछि रेखाले पनि आफ्ना सन्तानलाई चाहिँ किन अमेरिका पठाएको त रु भन्दै लिङ्देनलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काइन् ।   

बरु, राजनीतिमा जित–हार भए पनि सांसद सुनील शर्मा र अभिनेत्री रेखा थापाको सम्बन्ध भने सुमधुर छ । यसको पुष्टि शर्माले नै गरेका छन् । शुक्रबार सार्वजनिक रेखाको फिल्म ‘उपहार’ हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर गर्दै सो फिल्मले नेपाली फिल्मको उचाइ अझ माथि पुर्याउने विश्वास व्यक्त गरे । 



उनले लेखेका छन्, ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु ।’

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् ।

‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराटचोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहनेछ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।

सुनीलले लेखेकाे स्टाटसमा कमेन्ट गर्दै रेखाले सम्मानका साथ धन्यवाद व्यक्त गरेकी छिन् । उनले अंग्रेजीमा लेखेकी छिन्- थ्यांक यु माइ रेस्पेक्टेड दाइ  !

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ । ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार १५:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया