सरकारप्रति जनतामा आशा पलायो, सत्ता गठबन्धनमा कुनै समस्या छैन अब काम गर्छौँ : वर्षमान पुन
फाइल फाेटाे

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन् । 

पोखरामा प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे ।

‘नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ’, नेता पुनले भने । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उनले उल्लेख गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भने, ‘अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्छ ।’

नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताए । ‘यस पटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने छ’, नेता पुनले भने ।

नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए । निर्वाचन प्रणालीले गठबन्धन अनिवार्य गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उनले उल्लेख गरे । ‘देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित ‘म्यान्डेट’सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन’, उनले भने । 





  • प्रकाशित मिति : फागुन ५, २०८० शनिबार १८:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया