सैनिक कल्याणकारी कोषमा ८१ अर्बभन्दा बढी मौज्दात, के हो यति धेरै रकमको स्रोत ?

राष्ट्रियताको रक्षक नेपाली सेना ठेक्कापट्टा, व्यापार व्यवसायसँगै उद्योगतिर रुमल्लिन थालेको छ । कामलाई लिएर सेना सधैँ आलोचित हुँदै पनि आएको छ । पछिल्लो समय नेपाली सेनाले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने तयारी गरेपछि फेरि एकपटक आलोचित हुन पुगेको हो । सेनालाई हेटौँडा कपडा उद्योग सैनिक कल्याणकारी कोषको लगानी र सेनाकै व्यवस्थापनमा सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन सरकारले गर्न लगाएको थियो । 

सोहीअनुसार सेनाले प्रधानमन्त्रीलगायत मन्त्रीहरूलाई हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्भाव्यता अध्ययनबारे ‘ब्रिफिङ’ गरेको थियो । विभिन्न कारणले बन्द भएको देशकै पहिचान बोकेको कारखानालाई सैनिक कल्याणकारी कोषको लगानीमा नेपाली सेनाले पुनः सञ्चालन गर्न खोजेको हो । धेरैले सेना उद्योग सञ्चालनतर्फ लागेपछि विरोध पनि गरिरहेका छन् भने केहीले सेनाको लगानी उद्योगतर्फ हुनुपर्छ भन्ने तर्क पनि गरिरहेका छन् ।

सेनाले गरेको अध्ययन प्रतिवेदनमा औद्योगिक क्षेत्र भएकाले उद्योगको सुरक्षा तथा न्यूनतम पूर्वाधारको उचित व्यवस्था रहनुका साथै कपडा उत्पादन गर्न अधिकांश कच्चा पदार्थहरू स्वदेशमै सहज तरिकाबाट उपलब्ध हुन सक्ने जनाइएको छ । नेपाली सेना तथा अन्य सुरक्षा अंग (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)हरूका लागि आवश्यक चुस्ता कपडा, सर्ट, पाइन्ट, कोट, एप्रोन, डाँग्री, तन्ना, पर्दा कपडा र सिरानीको खोलको कपडा गरी प्रारम्भिक चरणमा प्राप्त विवरणअनुसार करिब २६ लाखमिटर कपडाको वार्षिक माग रहेको छ । 

अन्य सरकारी कर्मचारीका लागि आवश्यक पर्ने कपडा पनि सोही उद्योगबाट उत्पादन गर्न सकिने सेनाले जनाएको छ । उद्योग सञ्चालनमा आएपछि आयात प्रतिस्थापन भई विदेशी मुद्रा सञ्चिति हुने र कपडाजस्तो आधारभूत सामग्रीको गुणस्तरीय उत्पादनमा आत्मनिर्भरता हुने प्रतिवेदनमा जनाइएको छ । त्यसैले सैनिक कल्याणकारी कोषको रकम कतिपय अवस्थामा दुरुपयोग पनि भइरहेकाले यस्ता उद्योगहरूमा लगानी गर्नुपर्ने तर्क पनि राखिरहेका छन् । 

सेनाको कल्याणकारी कोषमा कति छ मौज्दात ? 

नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रकम पछिल्लो समय बढ्दो छ । सेनाको सैनिक कल्याणकारी कोषमा पछिल्लो समय ८१ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । त्यसमध्ये विभिन्न कार्यक्रममा कोषबाट ६ अर्ब ७६ करोड रुपैयाँ लगानी गरिएको छ । जसमा स्कुल, कलेज, मेडिकल कलेजलगायत पूर्वाधार तथा आयोजनाहरूमा लगानी रहेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारी बताउँछन् ।



यस्तै, उनका अनुसार बैंकमा नगद मौज्दात​ ७४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ रहेको छ । सैनिक कल्याणकारी कोषको स्थापना ०३२ सालमा गरिएको थियो । ०३२ सालमा युएन शान्ति सेनामा गएका व्यक्तिको १ करोड ३२ लाख रुपैयाँ बीउ पुँजीबाट कोषको स्थापना भएको थियो । अहिले यो बढेर मुलुककै ठूलो कल्याणकारी कोषको रूपमा विकास हुँदै गएको छ । यसबाट  प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिस लाभान्वित हुने गरेको नेपाली सेनाले जनाएको छ । 

कहाँबाट आउँछ सेनालाई पैसा ?



सेनाको कल्याणकारी कोषमा संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति मिसनमा खटिने सैनिकबाट उनीहरूले पाउने भत्ताको केही प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपबाट प्राप्त ब्याज, सेनाले चलाएका विद्यालय, पेट्रोल पम्पजस्ता संस्थाबाट हुने आम्दानी जम्मा गरिन्छ । ‘बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय/महाविद्यालयको शिक्षण शुल्क पनि कोषको आय स्रोत हो,’ सैनिक सूचना अधिकारी कृष्णप्रसाद भण्डारी भन्छन्, ‘यसबाहेक आयमूलक लगानीबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम, मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कोषमा जम्मा हुन्छ ।’

उनका अनुसार कोष सैनिक ऐन, ०६३ र सैनिक कल्याणकारी कोष नियमावली ०६५ बमोजिम सञ्चालन हुन्छ । कोषको व्यवस्थापन प्रधानसेनापतिको अध्यक्षतामा रहने समितिले गर्ने प्रावधान छ । जसमा कोषको संरक्षक प्रधानमन्त्री, सह–संरक्षक रक्षामन्त्री, अध्यक्ष प्रधानसेनापति र सात सदस्यीय सञ्चालक समिति रहने कानुनी व्यवस्था छ । हाल सेनाले ‘बहुजन हिताय, बहुजन सुखाय’ (धेरै मानिसको हितका लागि, धेरै मानिसको सुखका लागि)लाई कोषको आदर्श वाक्य मानेको छ । 

कहाँ–कहाँ हुन्छ खर्च ?

सैनिक कल्याणकारी कोषको पैसा सेनाको हकहितमा मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ । कोषको सञ्चालन र व्यवस्थापनको विषय सैनिक कल्याणकारी कोषको नियम ६ मा व्यवस्था गरिएको छ । ‘सैनिक कल्याणकारी कोष नियमावली २०६५’ को नियम ७ मा कोषले लगानी गर्न पाउने क्षेत्रको विषयमा पनि स्पष्ट व्यवस्था गरिएको छ ।

कोषको नियम ७ अनुसार ‘बहालवाला तथा भूतपूर्व सैनिक व्यक्ति र निजका परिवारको हितका लागि लगानी गर्न’ सकिन्छ । जसअन्तर्गत औषधोपचार स्वास्थ्य सेवा, आवास उपलब्ध गराउने, क्यान्टिन सञ्चालन गर्न, विद्यालय तथा महाविद्यालय स्थापना गरी सञ्चालन गर्न, बहालवाला तथा भूतपूर्व व्यक्तिलाई सहभागी गराई आयमूलक कार्य सञ्चालन गर्न लगायतका विषयमा कोषको तर्फबाट लगानी गर्न सकिन्छ ।

त्यसैगरी नियमावलीले कोषको प्रयोग नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र निजका परिवारको कल्याणको लागि कल्याणकारी योजना र आयमूलक कार्य सञ्चालन गर्न, शान्ति सेनासम्बन्धी कार्यका लागि आवश्यक पर्ने रकम र सरसामान उपलब्ध गराउनेलगायतमा यो रकम प्रयोग गर्न सकिने व्यवस्था छ ।

यसरी कोषबाट सैनिकहरूको स्वास्थ्य, शिक्षा, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत, आर्थिक राहत तथा बिमाजस्ता कल्याणकारी कार्यहरूमा खर्च गरिरहेको उनी बताउँछन् । ‘कल्याणकारी योजना तथा आयमूलक कार्यमा लगानी गर्न पाइने व्यवस्था छ । तर, यस्तो लगानी प्रवद्र्धकको रूपमा गर्न पाइन्न । सेनालाई आवश्यक पर्ने विविध सामग्रीको आपूर्ति, उत्पादन र सञ्चयमा पनि कोषको रकम खर्च हुन्छ,’ उनी भन्छन् ।

यस्तै, सीप तथा स्वरोजगारको क्षेत्रमा अवकाशप्राप्त सैनिक र परिवारका लागि व्यावसायिक कृषि तथा पशुपालनको तालिम प्रदान गरेर स्वरोजगार बन्न सक्ने वातावरण निर्माण पनि गरिरहेको उनको भनाइ छ । 

जोखिममा रहेको निक्षेप घट्दो !

सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा पैसा राख्दै आएको छ । तर, कतिपय रकम सेनालाई उठाउन गाह्रो परिरहेको भन्ने खबरहरू पनि बेला–बेला सार्वजनिक भइरहन्छ । तर, सैनिक सूचना अधिकारी भण्डारीका अनुसार निक्षेपमा जोखिम छैन । ‘जोखिमको न्यूनीकरण गर्न जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर वित्तीय जोखिम कम गर्ने नीति अवलम्बन गरिएकाले निक्षेप धेरै हदसम्म सुरक्षित रहेको छ’, भण्डारी भन्छन्, ‘समस्याग्रस्त बैंकहरूबाट कोषको निक्षेप असुली गर्ने कार्य प्रभावकारी बनाउन अचल सम्पत्ति कोषको स्वीकृतिबेगर बेचविखन गर्न नपाउने गरी रोक्का राख्ने कानुनी प्रक्रिया पनि अवलम्बन गरिएको छ ।’

साथै पछिल्लो समय विभिन्न वाणिज्य बैंकलाई निक्षेप उपलब्ध गराउँदा सम्बन्धित बैंकको पुँजी पर्याप्तता, कर्जा तथा लगानीको गुणस्तर स्थिति, व्यवस्था, सञ्चालन नतिजा, तरलता र बजार संवेदनशीलताका स्थितिलाई अध्ययन गरेर दिने गरिएको छ । उनी भन्छन्, ‘अध्ययनको आधारमा प्राथमिकता वर्गीकरण गरेर अधिकतम निक्षेप सीमा तोकेर कोषको रकम निक्षेप उपलब्ध गराउने गरिएको छ । जसले यस्ता समस्या छैनन् ।’ तर, कोषको रकम कहाँ राख्ने र कसले जवाफदेहिता बहन गर्ने भन्ने बारेमा अन्योल रहँदा दु:खले आर्जेको धनको दुरुपयोग रोकिन नसकेको केहीको आरोप पनि छ ।

  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १८:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया