भरतपुर विमानस्थल विस्तार गरिँदै, आजदेखि सर्वे
फाइल तस्बिर

भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढ्ने भएको छ । चरतपुरमा रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्न लागिएको हो । 

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिनेछ । सर्वेको काम आज (सोमबार) बाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरूप काम सुरु हुन लागेको हो ।  

यस्तै, समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ ।

गत १८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्नेछ ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १ हजार २ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४ सय १२ मिटर बिस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १ हजार ५ सय मिटरको बनाउनुपर्नेछ ।  





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार ७:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया