रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव दुई सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । जेलमा बन्द नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो ।
रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नाभाल्नीकी श्रीमतीले श्रीमानको शव लुकाएको बताएकी छन् ।
उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन् । उता, क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा आफूहरूले अध्ययन गरिरहेको र अझैंसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ । अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ ।
नाभाल्नीको मृत्युपछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय फोरममा नाभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो ।
यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ । तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरुको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए ।
रुसले नाभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले निधन भएको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।