logo-img

तेस्रो वर्षमा रुस–युक्रेन युद्ध, लडाइँ अन्त्य हुने सम्भावना न्यून

शनिबार रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रुस नयाँ लाभबाट उत्साहित भएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४, २०२२ को बिहानै ‘विशेष सैन्य अभियान’ को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरुद्ध विजय गर्ने अनुमान गरेका थिए । तर, युक्रेनले अहिलेसम्म रुसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रुसी सेनालाई पश्चगमन गर्न बाध्य बनाएको छ । 

तर, युक्रेनले सन् २०२३ को प्रत्याक्रमण अनपेक्षित असफल भएपछि धक्का खाएको छ । यो उसलाई आफ्ना सहयोगीले युद्धका लागि प्रतिबद्धता गरेअनुसारको हतियार र आर्थिक सहयोगको अभावका कारण भएको रुस–युक्रेन युद्धबारे नजिकबाट जानकारी राख्ने विश्लेषकले बताएका छन् । 

रुसी सेनाले युद्ध उत्पादनको वृद्धिका कारण शक्तिको स्थिति निर्माण गरेको छ, जबकि युक्रेनका सैनिकहरूसँग जनशक्तिको कमी छ र तोपखाना र हवाई प्रतिरक्षाको लागि पश्चिमी–आपूर्ति गरिएको गोलाबारुदको यथेष्ठ आपूर्ति नहुँदा सुस्त गतिमा रक्षात्मक लडाइँ लडिरहेको छ । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार आपूर्तिसम्बन्धी निर्णय ‘प्राथमिकता’ हुनुपर्ने बताएका छन् । 

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनलगायत पश्चिमा नेताहरूले युक्रेनको ‘असाधारण प्रतिरोध’को प्रशंसा गर्दै शनिबार किएभ आइपुगेका छन् । 



तर, अमेरिकी कंग्रेसले ६० अर्ब अमेरिकी डलरको सहायता कार्यक्रम रोकेपछि युक्रेनका लागि समग्र तस्बिर अन्धकारमय बनेको छ । यो प्रतिज्ञा गरिएको सहयोगको आपूर्तिको ढिलाइको शीर्षस्थानमा आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन सांसदहरूलाई थप अनुदान नरोक्न पुनः आह्वान गर्दै ‘इतिहासले पर्खिरहेको’ र ‘यस महत्वपूर्ण घडीमा युक्रेनलाई समर्थन गर्न असफल भएको दिन’ नबिर्सिइने दोहोर्याएका छन् । 



रुसले पूर्वमा कडा आक्रमण गरिरहेको छ र फेब्रुअरी १७ मा डोनेट्स्क नजिकैको मारिंका शहरले अति बलियो किल्ला भएको सहर अभ्दाइभ्का कब्जा गरेपछि पछिल्लो आक्रमणको केन्द्रविन्दु बनेको छ ।

युक्रेनको अर्थव्यवस्थामा पोलिस किसानहरूको सीमा नाकाबन्दीले पनि असर पारेको छ जुन किएभले निर्यातलाई खतरामा पारेको र हतियारको आपूर्ति रोकेको बताएको छ ।

किएभमा, मनोदशा डरलाग्दो छ, तर अझै पनि युक्रेनीहरूले भनेका छन् उनीहरू युद्धसँग अभ्यस्त भइरहेका छन् ।

‘युक्रेनका महिलाहरूका लागि, हाम्रा पतिहरूका लागि, हाम्रा छोराछोरीहरूका लागि, हाम्रा बुबाहरूका लागि, यो हृदयको पीडा हो,’ किएभका पोषणविद् ओल्गा बायर्कोले भने । उनले भने, ‘म वास्तवमा यो जतिसक्दो चाँडो अन्त्य होस् भन्छु ।’

३८ वर्षीय व्यवसायी युरी पासिच्निकले एएफपीसँग भने, ‘युक्रेनीहरूले यससँग बाँच्न सिकेका छन् । अब युद्ध हाम्रो दैनिकी भएको छ ।’

कोस्टियनटाइन गोफम्यान, ५१, ले ‘थप हतियारको माग गर्दै यो दुष्ट आत्मालाई आफ्नो भूमिबाट भगाउन र युक्रेनको पुनर्निर्माण सुरु गर्न सहकार्य हुनुपर्नेमा जोड दिए । 

विश्व बैंक, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ र युक्रेनी सरकारको पछिल्लो अनुमानअनुसार रुसको आक्रमणबाट ध्वस्त भएका सहरको पुनर्निर्माण गर्न युक्रेनलाई लगभग आधा ट्रिलियन डलर आवश्यक पर्छ । युक्रेनले करिब ५० हजार सर्वसाधारण मारिएको अनुमान गरेको छ ।

कुनै पनि पक्षले सैनिक मृत्यु र घाइतेको संख्या सार्वजनिक गरेका छैनन् भने दुवै पक्षले ठूलो क्षति पुर्याएको दाबी गरेका छन् ।

अगष्ट २०२३ मा द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै युक्रेनको ठूलो सैन्य क्षति (७० हजारको मृत्यु र एक लाखदेखि एक लाख २० हजारसम्म घाइते) भएको उल्लेख गरेको थियो । 

गत डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायले तीन लाख १५ हजार रुसी सैनिक मारिएको वा घाइते भएको संकेत गरेको थियो ।

रुसी रक्षामन्त्री सेर्गेई सोइगुले युक्रेनमा मस्कोको सेनासँग हालै भेटेको र सेनाको अनुपातका आधारमा फाइदा आफ्नो पक्षमा रहेको बताएका छन् । उनलाई रुसी सेनाले अभ्दाइभ्कालाई नियन्त्रणमा लिएपछि ‘आफ्नो प्रगति जारी रहेको’ बारेमा पनि जानकारी गराइएको थियो ।

सोइगुलाई दिइएको रिपोर्टमा भनिएको छ, ‘युक्रेनी सेनाहरूको संख्या र बाहिरको संख्या कम छ त्यसैले पूर्वी मोर्चामा युक्रेनको मनोबल कमजोर छ, त्यसैले उनीहरू रुसी सेनालाई जमिन सुम्पिँदै छन् ।’

बखमुतनजिकैका एक सैनिकले नाम नबताउने सर्तमा भने, ‘हामीसँग हतियार (गोलाबारुद) सकिइसकेको छ र रुसीहरू आइरहन्छन् । हाम्रा धेरै साथीहरू घाइते भएका छन् वा त्योभन्दा पनि खराब अवस्थामा छन् । सबै कुरा झन् झन् बिग्रँदै गएको छ ।’

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि तत्काल आवश्यक तोपखानाको गोलाबारुदको उत्पादन बढाउन २४ करोड ५० लाख पाउन्ड (३१ करोड १० लाख अमेरिकी डलर) को नयाँ रक्षा प्याकेजको घोषणा गरेका छन् । 

मस्कोले आफ्नो हतियार उत्पादनमा व्यापक वृद्धि गरेको छ र इरानबाट ड्रोन खरिद गरेको छ । रुसले उत्तर कोरियाली क्षेप्यास्त्रहरू प्रयोग गरेको पुष्टि भएकोे किएभले दाबी गरेको छ । 

जेलेन्स्कीले गत डिसेम्बरमा सेनाले थप पाँच लाख सैनिक परिचालन गर्न चाहेको बताएका थिए । जनपरिचालनलाई व्यापक बनाउने विधेयकले जनमानसमा व्यापक त्रास पैदा गरेको छ ।

यस द्वन्द्वले रुसलाई पश्चिमबाट अझ बढी अलगावतर्फ धकेलेको छ, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले धेरै प्रतिबन्ध लगाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनको ‘वार मेसिन’ रोक्न निरन्तर दबाब दिने र पुटिनका सबैभन्दा मुखर आलोचक एलेक्सी नाभाल्नीको साइबेरियाको जेलमा गत हप्ता भएको मृत्युका लागि पनि मूल्य तोक्न माग गर्दै रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका छन् । 

यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शनिबार बिहान आफ्ना रुसी समकक्षीलाई युद्धलाई लिएर ‘युरोपेलीहरूको थकानमा भरोसा नगर्न’ आग्रह गर्दै फ्रान्सले किएभलाई गरेको समर्थन ‘डगमगाउने छैन’ भनी प्रतिज्ञा गरेका छन् । 

यद्यपि पुटिनले रुसी सेनालाई ‘सच्चा राष्ट्रिय नायक’को संज्ञा दिएका छन् । 

उनले युद्धका वर्षहरू देशभक्ति जगाउन र असहमतिमाथि अझ कठोर दमन गर्न प्रयोग गरेका छन् । युद्धको विरोधमा आवाज उठाउने साहस थोरैले मात्र गरेका छन् ।

विपक्षी नेता नाभाल्नीको निधनले पुटिनका कट्टर प्रतिद्वन्द्वीलाई हटाएको छ र उनले अर्को महिना हुने चुनावमार्फत आफ्नो कार्यकाल लम्ब्याउने तयारीलाई पक्का गरेका छन् । 
 
मस्कोको सडकमा हिँडिरहेका अधिकांश मानिसहरूसँग गरिएको सर्भेक्षणमा युक्रेनमा लडिरहेका रुसी सैनिकलाई आफ्नो समर्थन रहेको एएफपीसँग उनीहरूले बताएका थिए ।

‘मलाई हाम्रा मानिसहरूप्रति गर्व छ,’ वातावरण इन्जिनियर २७ वर्षीया नादेज्दाले भने, ‘निःसन्देह म उनीहरूका लागि चिन्तित छु, तर यो सुखद् अनुभूति हो कि उनीहरूले राम्रो गरिरहेका छन्, उनीहरू त्यहाँ हाम्रो देशको लागि लडिरहेका छन् ।’

वैकल्पिक राय दिने थोरै व्यक्तिमध्ये एक वेटरको रूपमा काम गर्ने नाटक शिक्षक कोन्स्टान्टिनले भने प्रायः रुसीकोभन्दा भिन्न विचार राख्दै भने,‘म कुनै पनि युद्धको विरुद्धमा छु । दुई वर्ष बितिसकेको छ र मानिसहरू एक–अर्कासँग कुरा गर्न सक्दैनन् र अझै पनि युद्धमा छन् । यसले मलाई रिस उठ्छ ।’

  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया