त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै
तस्बिर : क्यान

टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम सुखद सुरुवात गर्न चाहन्छन् ।  

टी–२० आई खेल्नुअघि नेपालले आइतबार सम्पन्न एकदिवसीय सिरिजमा नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । जहाँ नेपालले चारमध्ये एक खेलमा मात्र जित हात पार्‍यो । नेपालले एकदिवसीय सिरिजमा नामिबियासँग पहिलो खेलमा ४ तथा दोस्रो खेलमा २ विकेटको हार बेहोरेको थियो । नेपालसामु अब ओडिआई सिरिजमा बेहोरको हारको बदला टी–२० श्रृंखलामा लिने मौका छ ।

 

हालसम्म नेपाल र नामिबियाले टी–२० आई म्याच खेलेका छन् । त्यसले यी दुई टिम मंगलबार पहिलो भेटमै खेल जित्दै इतिहास रच्न चाहन्छ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै नामिबियालाई स्तब्ध पार्ने दाउमा छ । उता पाहुना टिम नामिबिया आफ्नो लय कायमै राख्दै नेपाललाई हराउने योजनामा छ । ऊ पछिल्लो समय उत्कृष्ट लयमा छ ।

नामिबियाले जारी संस्करणको विश्वकप लिग–२ को पहिलो सिरिजमा सर्वाधिक तीन खेल जित्यो । र, ऊ अहिले लिग–२ तालिकाको शीर्ष स्थानमा छ । नामिबिया अब टी–२० आई श्रृंखला पनि जित्दै नेपाल भ्रमण अन्त्य गर्ने लक्ष्यमा छ । अहिले आइसिसी टी–२० आई वरियतामा एसोसियटतर्फ नामिबिया ‘नम्बर वान’ टिम हो । समग्रमा भने ऊ वरियताको ११औँ स्थानमा छ ।

नामिबिया टेस्ट टिम जिम्बाब्वे र आयरल्याण्डभन्दा माथि छ । यता नेपाल टी–२० आई वरियताको १६औँ स्थानमा छ । नेपाललाई यो सिरिजमा आफ्नो वरियता सुधार्ने मौका पनि छ । 



नामिबिया, नेपाल, नेदरल्याण्ड्स आसन्न विश्वकपको तयारीस्वरूप टी–२० आई सिरिज खेल्न लागेका हुन् । १ जुनदेखि अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने विश्वकपमा नेपाल र नेदरल्याण्ड् समूह ‘डी’ र नामिबिया समूह ‘बी’ मा छ । 



मंगलबार नामिबियाविरुद्ध नेपालको ओपनिङ ब्याटरको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले नै सम्हाले सम्भावना बलियो छ । यस्तै, तेस्रो नम्बरमा अनिल साहले मौका पाउन सक्छन् । पछिल्लो समय उनले आक्रामक तरिकाले ब्याटिङ गरिरहेका छन् । जसकारण पनि अनिललाई प्रशिक्षक मोन्टी देशाईले टी–२० टिममा मौका दिएका हुन् । र, यो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्न सके उनले विश्वकप टोलीमा मौका पाउने सम्भावना छ ।

नामिबियाविरुद्ध चौथोमा कप्तान रोहितकुमार पौडेल, पाँचौंमा कुशल मल्ल, छैटौँमा दीपेन्द्र सिंह ऐरी, सातौँमा सन्दीप जोरा, आठौँमा गुलशन झा, नवौँमा सोमपाल कामी, दशौँमा करण केसी र ११औँ नम्बरमा ललितनारायण राजवंशीले मौका पाउने सम्भावना छ । 

सिरिजको पहिलो खेलमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, राशिद खान, सागर ढकाल, प्रतिश जिसी र विवेककुमार यादवले प्लेइङ–११ मा मौका पाउने सम्भावना कम छ । 

  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ६:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया