टी–२० सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सको सहज जित

नेदरल्याण्ड्सले नेपालमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा नेदरल्याण्ड्सले बिहीबार नामिबियालाई ५९ रनले हरायो । 

पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले हराएको थियो । यता नामिबियाको यो पहिलो हार हो । उसले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । 

उसका लागि जेन ग्रीन र जन फ्राइलिन्स्कले ४२/४२, जेपी कोएट्जेले २६, कप्तान जेजे स्मिथ र रुबेन रुबेन ट्रम्पलम्यानले १९/१९ रन जोडे । नेदरल्याण्ड्सका लागि टिम भ्यान डर गुग्टेनले चार ओभरमा २६ रन दिएर सर्वाधिक दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो ।

त्रिवि मैदानमा टी–२० आईमा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।  उसका लागि ओपनिङ ब्याटर माइकल लेभिटले शतकीय इनिङ खेले । ६२ बलको सामना गरेका उनले ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । यस्तै, साइब्रान्ड एंगलब्रेच्टले ४० बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७५ रनको इनिङ खेले ।

तेजा निदामनारुले तीन बलमा तीन छक्कासहित १८ रन जोडे । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन दिएर सर्वाधिक दुई विकेट लिए । जारी सिरिजमा नेपालले तेस्रो खेलमा शुक्रबार नेदरल्याण्ड्सको सामना गर्नेछ । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १५:३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया