‘बफुन’ अर्थात् ‘बेसोमति हास्यव्यंग्य नाटक’ले उठाएकाे प्रश्न

काठमाडौं– वर्तमान समय नेपाली रंगमञ्चका लागि प्रयोगको समय हो । राणाकालीन समयभन्दा अघिदेखि नै सुरु भएको नेपाली रंगमञ्चको इतिहास निकै लामो छ । लामो इतिहास बोकेको नेपाली रंगमञ्चमा विश्वमा प्रचलित नयाँ–नयाँ प्रस्तुति, शिल्प र प्रवृत्तिको प्रयोग भइरहेको छ । अहिलेका नाटकमा कुनै न कुनै रूपमा यसको प्रयोग देखिन्छ । 

यही क्रममा नेपाली रंगमञ्चमा एउटा नयाँ शैली भित्रिएको छ । त्यो हो ‘बफुन’ अर्थात् ‘बेसोमति हास्यव्यंग्य नाटक’ । नाटक ‘आई एम नट सरी’ (म क्षमा माग्दिनँ)ले यो शैलीलाई नेपाली रंगमञ्चमा पहिलोपटक भित्र्याएको हो । 

नाटकका पात्र नै अनौठा छन् । जिउज्यानको आकार सामान्य मान्छेको भन्दा बिल्कुल फरक छ । हेर्दै डरलाग्दा । शरीरभरि गाँठागुठी पलाएका, हावा भरिएका ठुल्ठूला खुट्टा भएका, कसैका यौनांग अस्वाभाविक रूपमा ठूला र शरीरका विभिन्न ठाउँमा उम्रेका, शरीरभन्दा ठूला पेट, अनुहारमा काला–सेता दाग भएका राक्षसजस्ता, कोही कसैको पनि शरीरका अंग ठीक ठाउँमा नभएका असामान्य मान्छे छन् । अनौठो भाकामा गीत गाउँदै भेला हुन्छन् । एकछिन शान्त हुन्छन् । र, एक–अर्कालाई हेरी हाँस्न थाल्छन् । 

आफ्ना कुरा सुनाउँन थाल्छन् । उनीहरू समाजका विविध सामाजिक, राजनीतिक, आर्थिक समस्यामाथि व्यंग्य गरिरहेका छन् । आफू मात्र होइन, वेला–वेलामा उनीहरू दर्शकसँग पनि कुराकानी गर्छन्, तर उनीहरूसँग कसैले कुरा नगरेपछि फेरि आफ्नै जमातमा गएर त्यसको आक्रोश पोख्छन् । नेपाली समाजमा देखिएका विभिन्न समस्यामाथि प्रश्न उठाउँछन् र दर्शकमाझ छलफल गर्छन् ।



रंगमञ्चमा गएर नाटक हेर्ने संस्कृतिको विकास नेपालमा अझै भएको छैन । नाटक हेर्न महँगो मान्ने, बरु त्यो पैसाले अन्य नराम्रा कार्यतिर लम्किने सोचप्रति यो नाटकले व्यंग्य गरेको छ । नाटकको एउटा पात्रले भन्छ, ‘तीन सय रुपैयाँ हालेर कोही नाटक हेर्छ ?’ । अर्को पात्रले ‘तीन सय रुपैयाँ भए म त फिल्म हेर्न जान्छु’ भन्छ । ‘तीन सय भए म त बेश्यालय जान्थेँ’ अर्कोले भन्छ । त्यसैगरी ‘तीनसय भएको भए म त आधा बोतल बियर खान्थेँ’ अर्कोले भन्छ । कलाकारहरूले समसामयिक घटना वा विचारलाई मज्जाले समातेर त्यसप्रति व्यंग्य गरेका छन् । 

कलाकार बन्ने सोचले फिल्ममा अभिनय गर्न गएकी एक महिलालाई निर्देशक, निर्माता, अभिनेता वा नाटकसँग सम्बन्धितहरूले उसलाई बारम्बार बलात्कार गर्ने कोसिस गर्छन् । यस्ता सोच भएकाहरूका लागि यो नाटक एउटा ठूलो झापट पनि हो ।



भनौँ, नाटकमा उनीहरू कुनै अभिनय गरिरहेका छैनन् । बरु समाज वा मुलुकमा देखिएका विविध समस्यालाई टपक्क टिपेर दर्शकमाझ पस्केका छन् । समस्याबाट बेखबरहरूलाई खबर दिइरहेका छन् । पात्रहरूका शरीरमा गाँठागुँठी, खाल्डाखुल्डी हुनु नै समाजका विविध समस्याको विम्बका रूपमा आएका छन् ।

पात्रहरूले नाटकमा आफ्नो कुरूपतालाई लिएर एक–अर्कासँग त जिस्किन्छन् नै । तर, त्योभन्दा पनि उनीहरू समाजको कुरूपतातिर दर्शकलाई डोर्याउँछन् । महिला हिंसा कम भएको भनिए पनि समाजमा दिन÷प्रतिदिन देखिएका विभिन्न घटनाले यथार्थमा यस्ता हिंसा झन् बढेको देखाउँछ । महिलाले घरमा जस्तोसुकै अन्याय वा हिंसा भए पनि समाजका अगाडि राम्रो भएको बताउनुपर्ने बाध्यता छ । नाटकमा एक पुरुष पात्रले अर्को महिला पात्र (श्रीमती)लाई बलात्कार गरिरहेको हुन्छ । उसको यौनांगमा पिट्दै बलात्कार गरिरहेको हुन्छ । अरू पात्र पछाडि गीत गाइरहेका हुन्छन् : 

नारी हाम्रो खेलौना, खेल्न पाउनुपर्छ
हाम्रो रहरअनुसार, खेल्न पाउनुपर्छ,
हाम्रो चाहअनुसार पेल्न पाउनुपर्छ

त्यसैवेला एक पात्र बोल्छ, ‘यो सब स्वास्नीकै गल्ती हो । स्वास्नीको गल्ती नै नभई लोग्नेले त्यसै पिट्छ ?’  पीडितलाई कसैले सोध्दा जवाफ आउँछ, ‘मेरो श्रीमान्ले मलाई निकै माया गर्नुहुन्छ । जे गर्नुहुन्छ, मायाले गर्नुहुन्छ ।’ तर घरमा ऊ हरपल गुहार मागिरहेकी हुन्छे । ‘बलात्कार गर्दैमा के जान्छ र बलात्कार भनेको त हाम्रो अधिकार हो  ।’ यो वाक्य एक पुरुष पात्रले बोलेको हो । पुरुषको गल्ती भए पनि समाजले महिलालाई नै दोषी बनाउने प्रवृत्ति र नारी भोग्य वस्तु हुन् भन्ने कुविचारप्रति नाटकले चोटिलो प्रहार गरेको छ । 

विश्वमा धेरै धर्मावलम्बी छन् । सबै धर्मका आ–आफ्नै आस्था, विश्वास छन् । नाटकमा क्रिस्चियन, मुस्लिम, हिन्दू धर्मावलम्बीले आ–आफ्नो धर्म ठूलो भन्दै झगडा गरिरहेका देखिन्छन् । यी सबै धर्मबीच पनि एउटा समानता छ । महिलाहिंसा । 

देशमा गणतन्त्र आयो, लोकतन्त्र आयो, समय परिवर्तन भयो, तर देशमा राजनीतिक स्थिरता कहिल्यै आएन । देशको विकासभन्दा पनि आफूलाई विकास गर्नतिर मात्र सक्रिय भयौँ भन्दै देशका शासकप्रति नाटकले व्यंग्य प्रहार गरेको छ । एउटा पात्र भन्छ, ‘वर्षौं भयो, तिमीहरू परिवर्तन नभएको, तिमीहरू एक पाइला पनि अघि बढेनौ, सुन्दर महान् मूर्ख मान्छेहरू ।’ सबै हाँस्न थाल्छन् । यसले दर्शकलाई देशका अवस्था सम्झाउँछ र मनमा प्रश्न उब्जाउँछ । 

‘म क्षमा माग्दिनँ’ नाटक आफैँमा एउटा विम्ब हो । यसले सामाजिक विकृति वा देखावटी रूपमा गरिने प्रवृत्तिमाथि व्यंग्य गरेको छ । मान्छे जति गल्ती गरे पनि आफूले गल्ती गरेको स्वीकार गर्न चाहँदैन । बरु अझै गल्ती गर्ने कार्यतिर अघि बढिरहेको हुन्छ । नाटकमा काठमाडौं राजधानीको फोहोरको विषयलाई पनि महत्वका साथ उठाइएको छ । गीतको भाकामा ‘बागमती, विष्णुमती सभ्यता हो भन्छौँ, लाज छैन सरम छैन त्यहीँ आई कन्छौँ’ भन्दै बागमतीको फोहोरको अवस्थामाथि यसले व्यंग्य प्रस्तुत गरेको छ । काठमाडौं अति फोहोर छ । फोहोर नदीमा फाल्ने गरेको कुरालाई उठाएको छ ।

स्विट्जरल्यान्डकी अनिता बेर्तोलामी र आयरल्यान्डका शिव ग्रिन्सले यो नाटकको निर्देशन गरेका हुन् । यी दुवैजना हाल जर्मनीको फाइवर्गमा रंगकर्म गरिरहेका छन् । नेपाली रंगमञ्चमा बफुन शैली नेपालमा भित्र्याउने  श्रेय यिनै दुईलाई जान्छ । यो शैलीको नाटक नेपालमा पहिलोपटक भएको हो । नाटकका निर्देशकद्वयले यो नाटकलाई कुनै निश्चित विषय वा प्रस्तुतिभन्दा संसारलाई फरक ढंगबाट बुझिदिन आग्रह गरेका छन् ।

यही चैत्र ९ देखि १७ गतेसम्म मञ्चन भएको नाटकमा पवित्रा खड्का, भकेन्द्र बिसी, सविन कट्टेल, संगीता उराव, दीपिका ढकाल, मोहनप्रकाश (एक्सिडेन्टल रेपिस्ट), गोविन्द ओली र सुमित भण्डारीले अभिनय गरेका थिए ।

  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १८:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया