पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित

पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा नेपाल चुकेसँगै वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको हो । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै उपाधि जितेको हो ।

टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरे । नेपालका लागि भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् ।

रोजबहानले जोर्डनका लागि निर्णायक गोल गरिन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नुर जोकासले पनि गोल गरे । 

नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हिरा भुजेलले गोल गरे । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो र खेल सीधै पेनाल्टी सुटआउटमा गएको थियो । नेपालले सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

खेलको अन्त्यतिर पछाडि रहेको स्थितिमा पनि नेपाल खेलमा फर्कन भने सफल रह्यो । नेपालले ३०औँ मिनेटमा सविता रानामगरको गोलले अग्रता लिएको थियो । रेखा पौडेलको पासमा उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा जोर्डनले दुई गोल फर्काएको थियो । लारा परेराले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरी ल्याइन् ।



सारा अबुसाराले ८९औँ मिनेटमा गोल गर्दै जोर्डनलाई पहिलोपल्ट अग्रता दिलाइन् । तर नेपालले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । 

त्यसमा गीता रानाले गोल गरिन् । मेसा जेब्राहले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको हो ।



  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ०:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया