टी–२० सिरिज : जित्नैपर्ने दबाबमा नेपाल, आज नामिबियासँग भिड्दै
प्लेइङ–११ मा तीन परिवर्तनको सम्भावना
तस्बिर : क्यान

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रन तथा दोस्रो म्याचमा नेदरल्याण्ड्सविरुद्ध २ रनको हार बेहोरेको थियो। फाइनल सम्भावना कायमै राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ, अन्यथा नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ । 

यता पाहुना टिम नामिबिया नेपाललाई हराउँदै एक खेलअघि नै फाइनलको यात्रा गर्ने योजनामा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा नेदरल्याण्ड्सविरुद्ध ५९ रनको पराजय बेहोर्‍यो ।  

यस श्रृंखलामा नेपाल फिनिसिङमा चुकिरहेको छ । बुधबार नेदरल्याण्ड्सविरुद्ध जित नजिक पुगेको नेपालले अन्तिममा अप्रत्यासित तरिकाले विकेट गुमाएर हार बेहार्‍यो । यस्तै, नेपाल पहिलो खेलमा पनि कमजोर फिनिसिङका कारण पराजित हुन पुगेको थियो । 



नेपाल पछिल्लो दुई खेलमा गरेको गल्ती सुधार गर्दै शुक्रबार उत्कृष्ट कमब्याकको योजनामा छ । त्यसका लागि नेपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्नुको विकल्प छैन । 

प्लेइङ–११ मा तीन परिवर्तनको सम्भावना 



नामिबियाविरुद्ध नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले तेस्रो खेलमा सन्दीप जोरा, गुलशन झा र प्रतिश जिसीलाई विश्राम दिएर अनिलकुमार साह, विनोद भण्डारी र राशिद खानमध्ये एक र अविनाश बोहरालाई मौका दिने सम्भावना रहेको हो ।

लगातार दुई खेलमा डकआउट भए पनि कुशल भुर्तेलले निरन्तरता पाउने सम्भावना छ । आसन्न टी–२० विश्वकपको लागि पर्याप्त तयारी गर्नुपर्ने भएकाले पनि कुशलले आजको खेलमा निरन्तरता पाउने सम्भावना रहेको हो । 

मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि उनलाई तत्काल विश्राम दिने संकेत देखाएका छैनन् । उनले बुधबार नेदरल्याण्ड्ससँगको हारपछि दुई खेलमा शून्यमै आउट हुँदैमा कुशलमाथि धेरै प्रश्न गर्न आवश्यक नभएको प्रतिक्रिया दिएका थिए । साथै, मोन्टीले कुशल विश्वस्तरीय ब्याटर भएको पनि बताए ।  

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी/राशिद खान, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।    

  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ६:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया