भरतपुरको विकासमा सहयोग गर्ने ओलीको प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर रहेको बताएका छन् । 

भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँ सराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए । 

अध्यक्ष ओलीले भने,‘चितवन पर्यटनको प्रचुर सम्भावना भएको सहर हो ।’ उनले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको स्पष्ट गरे । उनले त्यही योजनाअनुरूप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जल पर्यटनका पूर्वाधार निर्माण गरेको बताए । 

अध्यक्ष ओलीले चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए । भरतपुरको विकासका लागि सभा हल, छ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पुर्‍याएको उनले बताए । 

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले यहाँको विकासमा आफू र आफ्नो पार्टी सधैँ सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १६:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया