राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्छौँ, माओवादीका कारण गठबन्धन तलमाथि हुँदैन : रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरूको कारणले गठबन्धन तलमाथि नहुने बताएकी हुन् । 

उनले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताइन् । उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् । उनले माओवादीको राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन् । 

उनले भनिन्, ‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन । माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रुपमा पनि आयो । अहिले जति विषयहरु उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो । करिब–करिब एकखालको सर्वसहमति जस्तो बन्यो स्थायी कमिटी बैठकमा । त्यसकारणले गर्दाखेरी यसमा दाबी गर्ने, यसमा उम्मेदवार हाम्रो हुन पाउनुपर्छ भन्ने त के अन्यथाको कुरा भयो र ? गठबन्धनले सहयोग गर्दा नै भइहाल्यो नि ठुलो कुरै भएन । गठबन्धन तलमाथि हाम्रा कारणले चाहीँ हुँदैन ।’

उनले अहिलेको अवस्थामा गठबन्धनमा कुनै खटपट नआएको बताइन् ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १७:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया