काठमाडौंमा मिटरब्याजपीडितको बिलौना : न्याय पाउने आशा छैन, घर फर्किने ‘बाटो’ छैन

लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरू निरन्तर रूपमा आन्दोलनरत छन् । नेपालको विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौं सरकारसँग न्याय माग्न आए पनि उनीहरूको मागलाई सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन ।

मिटरब्याज पीडितहरू न्याय नपाएसम्म काठमाडौं नछाड्ने अडानमा रहेका छन् । खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउँबाट रगत बगाउँदै भए पनि दैनिक काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरूको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ । तर दुई पटकसम्म वार्ता सफल हुन सकेको छैन । 

काठमाडौं आएका अधिकांश मिटरब्याज पीडितहरू गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्न माग गरेका छन् । अधिकांश पीडितहरूले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघट्ने उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको गुनासो गर्दै आएका छन् । 

उनीहरूले साहुले जाली तमसुक बनाएर भएको एक कठ्टा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौं आएको तर न्याय पाउने आशा मरेको बताए । उनीहरूले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरूको गुनासो छ । 

मिटिरब्याज पीडित आन्दोलनमा सहभागी दाङका मिटरब्याज पीडितले राज्यले पीडितहरूको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताएका छन् । उनीहरूले काठमाडौं आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी बताएका छन् । पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरूको खेल भइरहेको बताएका छन् । 

उनीहरूले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको बताए । पीडितहरूको माग सरकारले सम्बोधन गर्छ भन्ने दुःख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको बताएका छन् । न्याय नपाएसम्म काठमाडौं नछोड्ने योजनामा रहेको बताएका छन् । 



सुनसरी जिल्लाबाट आएका अर्का मिटरब्याज पीडित बेलाल अनसारीले पूर्वमेचीदेखि पैदल हिँडेर काठमाडौं आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाइ गर्ने अवस्था नदेखिएको दुःखेसो पोखे । उनले पीडितहरूको माग सम्बोधन नभएसम्म काठमाडौंमा नै बस्ने बताए ।  



  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १७:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया