गर्मीमा बालबालिकालाई सङ्क्रमणको जोखिम, जोगाउन यस्तो छ चिकित्सकको सुझाव [भिडियोसहित]

मौसम परिवर्तन, धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । अन्य मानिसको तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ । 

गर्मी याममा तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँ–धुलो बढ्दै जान्छ । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने गर्छन् । जसका कारण बालबालिकामा विभिन्न सङ्क्रमण हुने सम्भावना बढेर जाने कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईँ बताउँछन् । 

उनका अनुसार बिस्तारै–बिस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दै छौँ । यो मौसममा एलर्जी, छालासम्बन्धी रोग बढी देखिन्छन् । यो समयमा शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ । यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ ।
 
पछिल्लो समय बालबालिकामा भाइरल ज्वरो, रुघाखोकी, जन्डिस, पसिनाले गर्दा शरीरमा डाबर, निमोनिया, श्वासप्रश्वास, झाडापखाला वान्तालगायतका स्वास्थ्य समस्या लिएर अस्पतालमा आउने गरेको डा. चापागाईँ बताउँछन् । गर्मी मौसममा यस्ता समस्या खानेकुराबाट हुने हुँदा सकेसम्म पानी उमालेर खाने र बासी खानेकुरा नखान उनको सुझाव छ । 

यस्तै, दुई वर्ष मुनिका बालबालिकालाई नाक बन्द हुने, रुघा लाग्ने, निमोनिया हुने र श्वासप्रश्वासमा समस्या देखिने हुँदा यस्ता बच्चालाई विशेष ध्यान दिन अभिभावकलाई डा. चापागाईँको आग्रह छ । 

बढ्दै गरेको तापक्रमले तराइ लगायत काठमाडौं उपत्यकामा समेत बालबालिकामा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या आउने गरेका छन् । कान्ति बाल अस्पतालकै कुरा गर्ने हो भने पनि यहाँ हरेक दिन कयौँ बिरामीहरू घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर आइरहेका हुन्छन् । गर्मी मौसममा अन्य समयभन्दा तुलनात्मक रूपमा ब्याक्टेरियाको सङ्क्रमणबाट हुने छालाका समस्या बढी देखिने डा. रामहरि चापागाईँको भनाइ छ ।

कस्तो अवस्थामा बालबालिकालाई अस्पताल लैजाने ?



श्वासको गति धेरै भएमा, कोखा हानेमा, बच्चा एकदमै सुस्त भएमा, शरीर निलो भएमा खतराको लक्षण हो भनेर बुझ्नुपर्छ र तुरुन्तै अस्पताल लैजानुपर्छ । डा. चापागाईँका अनुसार सामान्य रुघाखोकी लागेमा, सामान्य ज्वरो आएमा भने प्यारासिटामोल लगायतका सामान्य औषधिले  घरमै पनि ठिक पार्न सकिन्छ । वान्ता गरेमा, पखाला लाग्ने, उच्च ज्वरो आएमा घरमै बस्नु हुँदैन, अस्पताल लैजानुपर्छ ।  सामान्य पखाला लागेमा घरमै जीवनजल पानी खुवाएर उपचार गर्न सकिन्छ ।

घरमा जीवनजल नभएमा तीन चम्चा नुन, अलिकति चिनी र  तीन गिलास पानी घोलेर  खान दिनु पर्छ । नुन र चिनीको मात्रा नमिलाएको भनेर विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो समय यसलाई मान्यता दिएको छैन, जीवनजल नै बनाएर खुवाउनुपर्छ भनेको छ । तर केही छैन भने विकल्पमा  नुन, चीनी र पानीको मात्रा मिलाएर बालबालिकालाई खुवाउनुपर्ने डा. चापागाईँको भनाइ छ । बालबालिकाले जीवनजल पानी पिउन सकेन, लगातार वान्ता गर्‍यो भने  नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा लगेर उपचार गर्न समेत उनी सुझाउँछन् ।



डा. चापागाईँका अनुसार घरमा जतिसुकै सफा गरे पनि खानेपानी आउने धारोमा फोहर छ भने त्यसले समस्या निम्त्याउँछ । झाडापखाला, जन्डिस लगायतका रोगहरू पानीजन्य सङ्क्रमणका कारण पनि हुने गर्छन्, त्यसैले पानीका मुहानहरू सफा गर्नुपर्छ । व्यक्ति, समाज र वातावरण सबै सफा राख्नुपर्छ । 

‘फोहर र सडेगलेका खानेकुराहरू खानु हुँदैन । घरबाहिर हिँड्दा मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाडमा नजाने गर्नुपर्छ,’ डा. चापागाईँ भन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पोषण, व्यायाम र निद्रा हो । यी कुरालाई सन्तुलनमा राख्न  सकियो भने धेरै रोगबाट बच्न सकिन्छ ।’ 

 

  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १८:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया