उपाधिका लागि दंगाली लायन्स र तुलसीपुर रोयल्स प्रतिस्पर्धा गर्ने


दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल प्रवेश गरेका छन्। घोराही स्थित घोराही क्रिकेट स्टेडियममा आज सम्पन्न दुई खेलमा घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गर्यो। लिगको उपाधिको लागि शनिबार दंगाली लायन्स र तुलसीपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। 

लिग चरणको सम्पूर्ण खेल सकिँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंक सहित शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ हार दर्ता गर्यो। घोराही टाइगर्स ४ अंक सहित तेस्रो, पुरनधारा च्यालेन्जर्स २ अंक सहित चौथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहीन रहँदै पाँचौँ स्थानमा रह्यो। 

आजको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८.४ ओभरमा भेटायो ।

दंगाली लायन्सको लागि ओपनर शङ्कर रानाले अविजित ६७ रन योगदान दिए। प्लेयर अफ द म्याच घोषित रानाले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले २५, शिशिर डाँगीले अविजित १७ रन बनाए। तेस्रो विकेटको लागि शङ्कर र बसिरले ६१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

देउखुरीका विशाल विक्रम केसीले २ तथा सुभम खनाल र प्रज्वल थापाले १र१ विकेट लिए। यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो।

देउखुरीको लागि ओपनर विशाल विक्रम केसीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै आवाज गौतमले अविजित १७ रन, आशिष ओली र थमन ओलीले समान १५ रन तथा सुभम खनालले अविजित १० रन जोडे । 



बलिङतर्फ दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए। शङ्कर रानाले २ तथा विपिन खत्री, वीर बहादुर घर्ती मगर र प्रकाश जैसीले १, १ विकेट लिए।

आजको दोस्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो। 



फाइनल पुग्न घोराहीले १५१ रनको लक्ष्य ११.३ ओभरमा पछ्याउनु पर्ने समीकरण थियो। तर घोराहीले २० ओभर ब्याटिङ गर्दा ९ विकेट गुमाएर १०९ रनमा समेटियो । घोराहीको लागि दीपेश कँडेलले सर्वाधिक २४ रन, सुशान्त सिंह थापाले २२ रन, युनिस विक्रम सिंहले १७ तथा रबिन थापाले १३ रन योगदान दिएता पनि जित्न पर्याप्त भएन। 

तुलसीपुर रोयल्सको बलिङमा अमर सिंह रौटेला र नवीन विकले २र२ तथा रुपेश सिंह, दिवान पुन र विराट सिंह भण्डारीले १ / १ विकेट लिए। यस अघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो। 

तुलसीपुरको लागि शङ्कर बुढाले सर्वाधिक ४३ रन बनाए जुन क्रममा २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विपिन रावल ४६ बलमा ३१ तथा अमर सिंह रौटेलाले १४ बलमा ३० रन बनाए। रौटेलाले २ चौका र ३ छक्का प्रहार गरे। भुवन कार्कीले १३ रन बनाए। 

घोराही टाइगर्सको बलिङमा दीपेश कँडेलले सर्वाधिक ३ विकेट लिए। मिलन बुढाथोकीले २ तथा रबिन थापा र युनिष विक्रम सिंहले १र१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए। 

दाङ क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १९:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया