टी–२० सिरिजमा दोस्रो जितको खोजीमा नेपाल, आज नेदरल्याण्ड्ससँग भिड्दै
प्लेइङ–११ मा दुई परिवर्तनको सम्भावना

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित टियू मैदानमै सुरु हुनेछ ।

नेपालका लागि नेदरल्याण्ड्सविरुद्धको खेल महत्वपूर्ण छ । यदि यो खेलमा जित निकाल्न सके नेपालको फाइनल सम्भावना बलियो बन्नेछ ।

यदि हार बेहोरेको खण्डमा फाइनल पुग्न नेपालले नेदरल्याण्ड्स र नामिबियाबीचको नतिजामा भर पर्नुपर्नेछ । त्यसकारण नेपाल शनिबार नेदरल्याण्ड्सविरुद्ध अनिवार्य जितको खोजीमा छ । जारी श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध दुई रनको साँघुरो हार बेहोरेको थियो । 

नेपाल आज उक्त हारको बदला लिने योजनामा पनि छ । यता नेदरल्याण्ड्स जारी सिरिजमा ‘ह्याट्रिक’ जितको खोजीमा छ । उसले पछिल्लो खेलमा नामिबियाविरुद्ध ५९ रनको जित निकालेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन बनायो । 



जारी सिरिजमा नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र अलराउन्डर साइब्रन्ड एंगलब्रेच्टले सानदार प्रदर्शन गरिरहेका छन् । जसमध्ये लेभिटले यस सिरिजमा २ खेलमा सर्वाधिक १८९ तथा एंगलब्रेच्टले १२४ रन बनाएका छन् । त्यसकारण शनिबार यी दुई ब्याटरविरुद्ध नेपालले विशेष योजना बनाउन आवश्यक छ ।

लेभिटले पछिल्लो खेलमा नामिबियाविरुद्ध ६२ बलमा १० छक्का र ११ चौकासहित १३३ रनको विस्फोटक पारी खेलेका थिए । साथै, उनले पहिलो खेलमा नेपालविरुद्ध ३६ बलमा ५४ रन बनाए । 



यता नेपाली टिममा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र रोहितकुमार पौडेलले राम्रो ब्याटिङ गरिरहेका छन् । शुक्रबार नामिबियाविरुद्ध जित निकालेकाले नेपाली टिममा आत्मविश्वास बढेको छ । र, नेपाल शनिबार नेदरल्याण्ड्सलाई हराउन तयार छ ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सले १० टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले पाँच र नेपालले चार खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । 

प्लेइङ–११ मा दुई परिवर्तनको सम्भावना

नेदरल्याण्ड्सविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले शनिबार आसिफ शेख र प्रतिश जिसीलाई विश्राम दिएर कुशल भुर्तेल र राशिद खानलाई मौका दिने सम्भावना रहेको हो । यदि आसिफलाई विश्राम दिइएमा अनिल साहले विकेटकीपिङ गर्नेछन् ।  

  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार ६:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया